काठमाडाैं – बलिवुड अभिनेता कार्तिक आर्यन र कियारा आडवाणी अभिनिती फिल्म भूलभुलैया-२ ले बक्स अफिसमा शानदार कमाई गरिरहेको छ ।
रिलिजको दोस्रो साता पुरा हुदा यस फिल्मले घरेलु बक्स अफिसमा १४१.७५ करोड भारतीय रुपैयाँ कमाई गरेको फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । फिल्मले रिलिजको पहिलो साता ९२.०५ करोड कमाई गरेको थियो भने दोस्रो साता ४९.७० करोड कमाई गरेको छ ।
फिल्मले केहि बेन्चमार्क समेत कायम गरेको छ । जसमा रिलिजको तीन दिनमा ५० करोड, ५ दिनमा ७५ करोड, ९ दिनमा सय करोड र ११ दिनमा १२५ करोडको आँकडा पार गरेको थियो । फिल्मले अहिले पनि राम्रो कमाई गरिरहेको र आउने सातामा पनि फिल्मको कमाई राम्रो हुने अनुमान गरिएको छ ।
८० करोडको लगानीमा बनेको यस फिल्मले बलिवुडलाई कोरोनाकाल पछिको लयमा फर्काएको विश्लेषण गरिएको छ । भूलभुलैया-२ कार्तिक आर्यनको क्यारियरमा अहिलेसम्मकै ठुलो ओपनर फिल्म बनेको छ । साथै यस बर्ष रिलिज भएका केजिएफ-२, आरआरआर पछि भूलभुलैया-२ ले ठुलो ओपनिंग गरेको छ । यस फिल्मले पहिलो दिन १४ करोडको ओप्निंग गरेको थियो ।
बलिवुड अभिनेत्री कंगना रनावटको फिल्म धाकड़ पनि यस फिल्मसँग रिलिज भएकोमा बक्स अफिसमा फ्लप भएपछि धाकडलाई हटाएर भूलभुलैया-२ प्रदर्शन गरिएको थियो ।