काठमाडौँ – दुर्व्यवहार गरेको आरोप खेपेका बौद्ध भिक्षु फुर्वा लामा र चलचित्र कबड्डी-४ की अभिनेत्री मिरुना मगरबीच सहमति भएको छ ।
‘अभिनेत्री मगरले कुनै जाति, धर्म सम्प्रदायप्रति असर पुग्ने आसयले कुनै पनि कार्य नगरेको भए पनि उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित हुन गएको घटनाबाट सिंगो बौद्ध धर्मावलम्बी भिक्षु लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमायाचना गरेकी छन्,’ सहमति पत्रमा उल्लेख छ ।
सहमति पत्रमा अभिनेत्री मगरका तर्फबाट अभिनेता दयाहाङ राई, फिल्म निर्देशक रामबाबु गुरुङ लगायत साक्षी बसेका छन् भने लामाका तर्फबाट खोन्पे कमल भण्डारी मिङ्ग्युर तामाङलगायत साक्षी छन् ।
‘ब्याड टच’ विवादमा पक्राउ परेका लामा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको आदेशपछि आज दिउँसो रिहा भएका थिए । आफूमाथि ब्याड टच गरेको भन्दै मिरुनाले लामालाई आइतबार प्रहरीको जिम्मा लगाएकी थिइन् ।
अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले जिल्ला प्रशासन कार्यालयमा हाजिर गराएको थियो । उक्त घटनापछि लामाको रिहाइ र मिरुनाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै विरोध प्रदर्शन भएको थियो ।