काठमाडाैं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ सय ग्राम सुन बरामद भएको छ । विमानस्थल सुरक्षा प्रहरी कार्यालयले अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रबाट १ सय ४९ दशमलव ५ ग्राम सुनसहित सुरूमा दुई जनालाई पक्राउ गरेको हो ।
भक्तपुर दुवाकोट बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-७ का ३३ वर्षीय समुन्द्र दंगाल र बुढानिलकण्ठ नगरपालिका-१२ बस्ने ४३ वर्षीय सन्तविर राई छन् । प्रहरीले उनीहरूलाई आइतबार पक्राउ गरेको थियो । समुन्द्रले सिंगापुर एयरलाइन्समार्फत् मलेसियाबाट सिंगापुर हुँदै काठमाडौं आएका यात्रुहरूलाई भन्सार छली गर्न लगाएको प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।
यात्रुहरूलाई उक्त परिमाणको धातु लुकाइछिपाइ लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको थियो । थप सोधपुछको क्रममा राईको पनि संलग्नता रहेको भन्ने खुल्न आएपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी, विमानस्थलबाट सोही दिन ७ सय ५० ग्राम सुन बरामद गरेको थियो । १४ वटा बाला र एउटा सिक्री प्रहरीले बरामद गरेको थियो । सिंगापुर र मलेसियाबाट काठमाडौं आएका १५ यात्रुहरूलाई भन्सार छली गर्न लगाएका थिए । ती यात्रुहरूले ल्याएको सुन विमानस्थलमा संकलन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो । ‘यात्रुहरूले ल्याएको सुन उनीहरूकै होइन। अर्कै व्यक्तिले लगिदिनू भन्दै पठाएका हुन्,’ प्रहरी वरिष्ठ उपरीक्षक बाँस्तोलाले भने ।
उनीहरूलाई मलेसियाको विमानस्थलबाट नामथर नखुलेका व्यक्तिले दिएर पठाएको प्रहरीले बताएको छ । काठमाडौं पुगेपछि सामान विमानस्थल वरिपरिका होटलमा रिसिभ गर्न आउने भन्ने सूचना दिइएको थियो । बरामद सुन तथा पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।