आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024


टोकियो – जापानमा रहेका विदेशीहरुलाई लक्षित गर्दै दैनिक जीवनमा प्रयोग हुने ब्यवहारिक र अति आवश्यकीय जापानी भाषा सिकून् भन्ने उद्देश्यले जापान सरकारले हालै बहुभाषिक भिडियो सामग्री उपलब्ध गराएको छ ।

आफुलाई आवश्यक पर्ने भाषा र शीर्षक छनौट गरी छोटा-छोटा श्रब्य-दृश्य सामग्री हेरेर जापानी भाषा सिकून्, कार्य सम्पादनमा समस्या नहोस् र जापान बसाईलाई थप सहज बनाउन मदत पुगोस् भन्ने हेतूले यो सामग्री उपलब्ध गराईएको बताईएको छ ।

लेभल एक, लेभल दुई र लेभल तीन गरी छुट्याईएको सो सामग्रीमा तहगत भाषिक ज्ञान र तात्कालिन आवश्यकता हेरी प्रयोग गर्न सकिने सो भिडियो निकै उपयोगी हुने अपेक्षा गरिएको छ ।

सामग्रीमा घरपरिवार, कार्यालय, कम्पनी वा बाहिर अवस्था हेरी गरिने अभिवादन, किनमेल, रेष्टुरेन्ट क्षेत्रमा प्रयोग हुने भाषा, यातायात, बैंक, छिमेकी, अस्पताल, पुस्तकालय, सरकारी कार्यालय, कोठा खोज्न परेमा वा कोठा सर्न परेमा, आपतकालिन अवस्थामा प्रयोग हुने जापानी भाषामा वार्तालाप गरिएका भिडियो हेर्न सकिने छ ।

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोला, त्यसपछि खुल्ने एउटा होमपेजको शीर्ष भागमा रहेको मेन्यू बटनमा आफ्नो भाषा रोजेर आफुलाई चाहिएको बिषय वा शीर्षक छनौट गरी वार्तालाप सुन्न र हेर्न सकिने छ ।

हाललाई नेपाली सहित १० वटा भाषामा उपलब्ध सो सामग्री चिनिया, पोर्तुगिज, स्पेनिस, भियतनामी, इण्डोनेशियन, फिलिपिनो, कम्बोडियन लगायतका भाषा रहेका छन् ।

जापान इमिग्रेशन ब्यूरो, फरेन रेसिडेन्ट्स सपोर्ट सेन्टरले समुद्रपारिलाई दिएको जानकारीअनुसार सो भिडियो जापान सरकारको शिक्षा, सँस्कृति, खेलकूद, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत पर्ने जापानी ल्याङ्वेज डिभिजन, एजेन्सी फर कल्चरल अफेयर्स (बुन्का चो –  文化庁) ले निर्माण गरेको हो । बुन्का-चो (文化庁) उक्त मन्त्रालयको अत्यन्त महत्वपूर्ण अंग मानिन्छ ।

उपलब्ध भिडियो सामग्रीको भरपूर उपयोग गरेर जापानी भाषाको ज्ञान बढाउन र जापान बसाईलाइ थप सहज बनाउन जापान इमिग्रेशन ब्यूरो, फरेन रेसिडेन्ट्स सपोर्ट सेन्टरले जापानबासी नेपालीहरुलाई अपिल गरेको छ ।***

तपाईको प्रतिक्रिया