काठमाडाैं – नेपाल ओलम्पिक कमिटी र केल्मीको आधिकारिक बिक्रेता कामरु ट्रेडिङबीच शुक्रबार प्रायोजन सम्बन्धी सम्झौता भएको छ । टोकियो ओलम्पिक २०२० मा सहभागी हुने नेपाली टोलीको लागि केल्मी ब्रान्डको खेल पोसाक, किड ब्याग, स्पोर्टस् सुज, मोजा, टोपी, रुमाल लगायत प्रायोजन गर्ने भएको हो ।
सम्झौता पत्रमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र कामरुको तर्फबाट निर्देशक प्रदीप न्यौपानेले हस्ताक्षर गरे । कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले खेलकुद विकासका लागि निजी क्षेत्रबीच सहकार्य र साझेदारी आवश्यक रहेको बताए ।
अहिले टोकियो ओलम्पिकका लागि मात्र सम्झौता भएता पनि लामो समयसम्म सहकार्य र साझेदारी गर्न छलफल भएको बताए । यो सम्झौता महत्वपूर्ण थालनी भएको भन्दै खेलकुदको माध्यमबाट प्रायोजकहरूलाई पनि सहयोग गर्ने बताए । केल्मीले यसअघि एन्फा, विभागीय टोली, तेक्वान्दो, कराँतेलाई प्रायोजन गरेको र भलिबलसँग सहकार्य गर्दै आएको छ ।