काठमाडौं – चीनले क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाएसँगै विश्वको सबैभन्दा महंगो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य खस्किँदै गत बुधबार ३४ हजार डलर भन्दा कम भयो । पछिल्लो ३ महिनामा बिटक्वाइनको मूल्य पहिलोपटक यति तल झरेको हो । यद्यपि बिहिबार बिटक्वाइनको मूल्यमा केही सुधार आएर ४२ हजार डलर पुगेको छ ।
चीनले हालै बैंक तथा भुक्तानी कम्पनीहरुलाई क्रिप्टोकरेन्सीको माध्यमबाट कारोबार गर्नमा रोक लगाएको छ । गत मंगलबार चीनले लगानीकर्ताहरुलाई क्रिप्टोकरन्सीको माध्यमबाट कारोबार नगर्न चेतावनी दिएको थियो ।
बिटक्वाइन सँगै इथर र डोजक्वाइन लगायतका क्रिप्टोकरेन्सीको मूल्यमा पनि भारी गिरावट आएको छ ।
त्यस्तै यो गिरावटले केवल बिटक्वाइन जस्ता क्रिप्टोकरेन्सीलाई मात्र असर गरेको छैन । बिटक्वाइनबाट कम्पनीको कारोबार नगर्ने एलन मस्कको घोषणासँगै टेस्ला कम्पनीको शेयर मूल्यमा पनि करीब ३ प्रतिशतको गिरावट आएको छ । स्मरण रहोस् एलन मस्कसँग करीब डेढ अर्ब डलर बराबरको बिटक्वाइन रहेको छ ।