टोकियो – टोक्यो ओलिम्पिक्स गर्न दुई महिनाभन्दा केही बढी समय मात्र बाँकी रहँदा महामारीका कारण प्रतियोगिता रद्द गर्नुपर्ने आवाज दिनदिनै चर्को बन्दै गइरहेको छ । त्यसो भए जापानले किन आयोजना रद्द गर्नेबारे कुरा गरिरहेको छैन ? जवाफ देखे सुनिए जस्तो त्यति सहज छैन ? जापानका लागि अवस्था खासै राम्रो देखिँदैन ।
राजधानी टोक्यो र अन्य तीन मुख्य क्षेत्रहरूमा सङ्क्रमित हुनेहरूको सङ्ख्या बढेसँगै त्यहाँ कोरोनाभाइरस सम्बन्धी आपत्कालीन व्यवस्था लम्ब्याइएको छ । तर अझै खेलहरू रद्द गर्ने विषयमा कुनै शब्द उच्चारण गरिएका छैन । यद्यपि स्वास्थ्य विज्ञहरूका विचार र आम धारणा भने सरकारविरूद्ध छन् ।
जापानमा गरिएका हालैका मत सर्वेक्षणमा त्यहाँका ७० प्रतिशत मानिसहरू ओलिम्पिक्स अघि नबढोस् भन्ने चाहन्छन् । तर अन्तर्राष्ट्रिय ओलिम्पिक्स कमिटी आईओसी भने उक्त विशाल आयोजना हुने कुरामा दृढ देखिन्छ । गत वर्षकै गर्मी याममा आयोजना हुनुपर्ने ओलिम्पिक्स भएरै छाड्ने र त्यो सुरक्षित रूपमा हुने भन्नेमा कुनै सन्देह नराख्न जापानले लामो समयदेखि भन्दै आएको छ ।
यसै साताको शुरूमा भने प्रधानमन्त्री योशिहिदे सुगा पहिलोपटक उपस्थित भएर व्यक्त आम दबावलाई सम्बोधन गर्ने प्रयास गरे । उनले सरकारले ‘ओलिम्पिक्सलाई पहिले नरोक्ने’ भन्दै त्यस्तो निर्णयको अधिकार अन्तत: आईओसीसँग हुने बताए । त्यसो भए खेलहरू रद्द गर्ने शक्ति वास्तवमा कोसँग छ र के ओलिम्पिक्स साँच्चिकै रद्द हुन सक्छ ?
आयोजना कसरी रद्द हुनसक्छ ?
आईओसी र आतिथ्य गर्ने शहर टोक्योबीचको सम्झौता स्पष्ट छ: रद्दका विषयमा त्यहाँ एउटा बुँदा छ र त्यसले आईओसीलाई मात्र रद्द गर्ने विकल्प दिएको छ, आतिथ्य गर्ने शहरलाई होइन ।
अन्तर्राष्ट्रिय खेलकुदका एक जना वकिल अलेक्जान्ड्र मिगल मेस्ट्रेले भने- त्यसो किनभने ओलिम्पिक्स खेल आईओसीको ‘विशेष सम्पत्ति’ हो । र ‘एकाधिकारप्राप्त’ निकायका हैसियतमा उक्त सम्झौता समेत आईओसीले तोड्न सक्छ ।
रद्द गर्ने औचित्यका लागि देखाइएको एउटा कारणमा – युद्ध वा नागरिक अस्थिरताबाहेक – ‘यदि आईओसीले सहभागीहरूको सुरक्षा गम्भीर रूपमा जोखिममा पर्ने ठानेमा वा असफल हुने देखिएका तर्कसङ्गत धरातल देखिएमा जेसुकै कारण ।’
र एउटा मत चाहिँ महामारी त्यस्तै एउटा जोखिमका रूपमा देखिएको भन्ने छ । ओलिम्पिक्सको बडापत्रमा समेत आईओसीले ‘खेलाडीहरूको स्वास्थ्य’ सुनिश्चित गर्नुपर्ने र ‘सुरक्षित खेल’ प्रवर्द्धन गर्नुपर्ने उल्लेख गरिए तापनि आईओसी अगाडि बढ्न प्रतिबद्ध देखिएको मेस्ट्रेले बताए ।
त्यसोभए के जापानले आईओसीविरूद्ध गएर एक्लै आयोजना रद्द गर्न सक्छ ? युनिभर्सिटी अफ मेलबर्नका प्राध्यापक ज्याक एन्डरसनले भने, ‘आतिथ्य गर्ने शहरसँग गरिएका सम्झौताका विभिन्न बुँदामध्ये यदि जापानले एकतर्फी रूपमा सम्झौता रद्द गरेमा त्यसको ठूलो जोखिम र क्षति स्थानीय आयोजक समितिलाई पर्नेछ ।’आलोचना
अहिलेको अवस्थामा खेलका अनिश्चितता कायमै छन् । अहिलेसम्म यो निकै कठिन बाटो बन्यो । गत वर्ष नै हुनुपर्ने आयोजना सारियो । ओलिम्पिक्स टर्चको दौडाहा पटक पटक रोकियो, अन्तर्राष्ट्रिय प्रशंसकहरू आउन पाउने छैनन् र अहिले त अझ खाली मैदानमा हुने प्रतिस्पर्धाहरू समेत अनिश्चित छन् ।
केही खेलाडीहरूले यसबारे मुख खोल्दै सहभागी नहुने सङ्केत गरेका छन् । सहभागी हुनेका लागि ओलिम्पिक्स उनीहरूको खेल जीवनकै मानक हुनु कारण छ। जसका लागि उनीहरूले बर्सौँ अभ्यास गरेका हुन्छन् । जापानकै सबैभन्दा प्रसिद्ध खेलाडी टेनिस च्याम्पियन नाओमी ओसाका पनि यस बहसमा संलग्न भएकी छन् ।
जापानले पछिल्लोपटक सन् १९६४ मा ओलिम्पिक्सको आतिथ्य गरेको थियो । र त्यसबेला त्यसलाई दोस्रो विश्वयुद्धपछिको पुर्नउत्थान र पुनर्निर्माणका रूपमा हेरिएको थियो । सन् २०२०/२१ को टोक्यो ओलिम्पिक्सलाई समेत लामो समयको आर्थिक सङ्कुचन, सुनामी र फुकुसिमा आणविक विपद्पछिको पुनर्उत्थानको विशेष महत्त्वको रूपमा लिइएको प्राध्यापक एन्डरसन व्याख्या गर्छन् ।
आधुनिक ओलिम्पिक्सको इतिहासमा यसअघि सन् १९१६, १९४० र १९४४ मा तिनै पटक दुई विश्वयुद्धका कारण खेलहरू रद्द गरिएका छन् । यसपटक आईओसीले रद्दबारे कुरा गर्न पनि नचाहिरहँदा धेरैले २३ जुलाईमा आयोजना साँच्चिकै भएर छाड्ने ठानिरहेका छन् । तर त्यसको स्वरूप र आकार भने अझै अस्पष्ट छ ।