Deneme Bonusu Veren Siteler
बिहिबार, मंसिर १३, २०८१
Thursday, November 28, 2024

एउटा भनाई छ- सिङ्गो बोरामा एक गेडा आलु कुहियो भने त्यसले पूरै बोराका आलु कुहाउँछ । परिवारमा अभिभावक खराब भयो भने पूरा परिवार खराब बन्छ सक्छ । देशको नेतृत्व त अझै संवेबेदनशील विषय हो । यहाँ खराब नेतृत्व हुनासाथ गाँउ बिग्रन्छ, टोल बिग्रन्छ, शहर बजार हुँदै सिङ्गो राष्ट्र नै आलु जसरी नै कुहिन्छ । अब हाम्रो आक्रोशका कलमहरु, पीडाका शब्दहरुमा, बिकृतिका दृष्यहरुमा, नेतृत्वको दोषहरुमा चलाएरमात्रै पनि अब यो शताब्दीमा कुनै ठोस परिवर्तन नहुने देखिसकिएको छ ।

‘पर्ख र हेर’का राजनीतिहरु यो देशमा धेरै भए, धेरै नयाँ अनुहारहरु यहि समाजका नेतृत्वमा अल्मल्लिरहे । गरिब जनताको करसँग खेल्दै शहरका मालिक बने । गरिबका रहर र सपनाहरुलाई कुल्चिदिए । जनताको जीवनस्तरमा कुनै परिवर्तन भएन । परिवर्तन त त्यहि भयो, जो राजनीतिको केन्द्र बिन्दुमा वर्षाैंदेखि छाईरह्यो । नेतृत्वसँगै उठबस् गरिरह्यो । जनतालाई चुनावताका ‘ईमोसनल ब्ल्याकमेल’ गरेरै मत लुटिरह्यो । उ नै मालिक बन्यो उसलाई नै देवत्वकरण गरिदियो यहि समाजका बुज्रुकहरुले ।

वि.सं. १९८१ मा तत्कालिन प्रधानमन्त्री चन्द्र समशेरले यो देशमा दास प्रथाको अन्त्य गरेका थिए । नेपालबाट दास प्रथा उन्मूलन भइसकेको भएतापनि राजनितीमा भने दाशत्व नै स्वीकार्य भइरहयो । देशमा धेरै तन्त्रहरु अदली बदली भए, संविधान बदलियो, नेतृत्व बदलियो तर, बदलिएन नेतृत्वको सोच, परिवर्तन भएन मूल्य मान्यता, अनि परिवर्तन हुँदै भएन बौद्धिक नागरिकहरुको चेतनाको परिधी ।

नेपाली राजनीतिमा सँधै भिडभाडको हाली मूहाली भयो, आक्रोशको र उदण्डताले स्थान पाउन लाग्यो, मनि र मसलहरुमा राजनीतिको बक्ररेखा घुमिरह्यो ।सत्ता टिकाउँने र गिराउँनेमा देशले कैयौं वर्ष व्यथित गर्यो । थरिथरिका अनुहारहरु सत्तामा देखिए । पि.एच.डी स्तरदेखि औंठाछापसम्मका नागरिकहरु यो देशका शासनसत्तामा पुगे । द्वेशको राजनीति चलिरह्यो ।

आजको राजनीतिक दुँनिया एउटा घोडे दौड हो । यो रेसमा दौडनेहरुको हार जित त अवश्य हुन्छ नै तर, हामीले कहिले दौडने शाहस गरेनौं । आफ्नो घरझगडा, कुर्सी तानातानमै लड्कारिरह्यौ । हामीले अरुलाई दोषमात्रै दिएर आँफु पन्छियौ । परिणाम देशको हालत यस्तै बन्न पुग्यो ।

अबका आगामी कैयौं वर्षहरु पनि यसरी नै दोष अरुको टाउकोमा मात्रै थोपर्ने हो भने, न त देश रहला न तपाई स्वाभिमान नागरिक । अबको संसारमा तपाईको नागरिकताले मात्रै तपाई निर्धक्क नेपाली नागरिक रहनु हुन्न । यो युग विकास र प्रबिधिको युग हो, आर्थिक सर्वोच्चताको युग हो, सक्षमहरुको युग हो । अनि जित्नेहरुको युग हो । दुँनियासँग हार्नेहरु त अब डाईनोसर जसरी नै बिलाउने निश्चित छ । तपाई मात्रै बनेर देशको परिवर्तन सम्भव छैन सिस्टम बन्नु पर्छ, संस्कार बन्नु पर्छ अनि आजको युगमा समय सापे़क्षित शिक्षा प्रणालीमा आमूल परिवर्तन हुनु जरुरी देखिन्छ । यस देशमा एक तप्का यस्तै विकृतिबाट उम्कन नसक्ने देखिन्छन् पनि ।

हाम्रो शिक्षा पद्दतीले हामीलाई स्वाभालम्बि बन्न कहिल्यै सिकाएन, देश सुहाउँदो शिक्षा प्रणाली भएन, मौलिकताले जोड्दै अघि बढ्नु पर्ने शिक्षा प्रणालीको सट्टा भाषालाई जोड दिएर अघि बढाईयो । देशभित्रै विभेदकारी शिक्षा लागु गरियो । वर्ग विभाजन गर्ने शिक्षा प्रणालीको विकास भयो । परजिवी शैक्षिक वातावरणको विकास गरियो ।

आजको वर्तमान विश्वमा यिनै कुराहरुले नेपाल पिछा परिरह्यो । आजसम्म पनि नेपाली राजनीतिमा नातावाद, वरिष्ठताक्रम चलिरह्यो । सत्ताको परिक्रमा तिनैले मात्रै गरिरहे जसले जनताको लागि खासै केहि गर्न सकेनन् । मतदान तिनैले मात्र गरिरहे जसले मूलुक परिवर्तनमा नेतृत्व परिवर्तन हुन्छ महसुस नै गरेनन् या यथास्थितिवादी सोंचबाटमाथि उठ्नै सकेनन् ।

आजसम्म देशमा पुस्ते राजनीति चलिरह्यो, अग्रजको झण्डा समाइरहे, झोला थेगिरहे । अब सोच फेर्नुपर्छ हामीले नेपाली पुरातनवादी राजनीतिक मस्तिष्कको ढोका उघार्न जान्नुपर्छ । दोष नेतृत्वलाई दिएर मात्रै परिवर्तन सम्भव छैन अब देशमा । अब तपाई हामीले राजनैतिक पुरातनवादी चेतनाबाट धेरैमाथि उठ्नै पर्छ । विकल्प नहुँदा बाबुले मतपत्रमा लगाएका छापहरुले देशमाथि उठ्नै सकेन । अब फरक विचार र मतपत्रहरुमा शाहसका साथ फरक छाप लगाउने हिम्मत र अठोट गर्नैपर्छ । अस्ताउँदो सूर्य, बुढो भएको रुख, खिया लागेको हँसिया हतौडाले यो देशको माटो उर्वर बनाउनै सक्दैन अब ।

थाकेका हलीहरुले यो देशका बाँझा खेतहरु जोत्न सक्दैनन् । अब बलिया र जोशिला हलीहरुलाई यो देशका बाँझा खेतहरु जोतेर मलिलो बनाउँन लगाँउनु पर्छ । अनि विकासे बिउ मिलेर छर्नुपर्छ । देशै हरियाली बनाई मोती फुलाउनुपर्छ । पुरानो सोंच त्याग्नुपर्छ बौद्धिक युवाहरु अब जाग्नैपर्छ ।

अब नेपाली राजनीतिमा असक्षम र खराबहरुको झुण्डलाई बहिष्कार र निषेधको थालनी गर्न ढिला भइसकेको छ । यो मूलुकको राजनीतिमा असक्षमहरुलाई, आफ्नाहरुलाई दयाँ-माया नातागोताको पगरिले होईन, कठोरता र शाहसको भाटाले बढार्नु पर्छ । हामी युगौं पछि परिसकेका छौं अब पनि डिग्रीको सर्टिफिकेटहरु खातका खात सन्दुकमा राखेर तिनै नातागोता, तिनै पूराना अनुहारको भजन कृतन, भोज-भतेर, सोमरसको चुस्कीहरुमा बहुमूल्य मतको सौदाबाजी गर्यौ भने आजभन्दा भोलि कहाली लाग्दो विकराल क्षणको एक्लै सामना गर्नु पर्नेछ । न हुने छ तपाईको बौद्धिक चेतनाको परिवर्तन न बन्नेछ यो मूलुकको भविष्य । न त तपाई हामी बन्नेछौं न त भावी सन्ततीको उज्वल भविष्य नै ।

अब आँफै भन्नुहोस् सँधै अर्काको आशा र भरोसामा, खाडीको तातो घाममा बसेर कतिन्जेल परिवारको पेट धान्न सक्नुहुन्छ ? कतिन्जेल बालबच्चाको शिक्षामा कतारी रियालले थेग्न सक्नुहुन्छ ? कतिन्जेल परदेशमा खटेर देशलाई रेमिट्यान्सले थेगिदिईरहनुहुन्छ ? परदेशमा अनागरिक भएर कतिन्जेल बाँच्न सक्छौ हामी । किन विदेशका पि.आरहरुमा र्याल चुहाईरहन्छौं हामी ? किन देशले रोजगार दिन सकेन युवाहरुलाई ? किन मेलम्ची उपत्यकासम्म आउन दशकौं लाग्छ ? किन हुम्लाको स्याउ राजधानी आउन सक्दैन ? किन जुम्लाका जडिबुटि नागरिकलाई काम लाग्दैन ? किन पानीको देशमा बसेर काकाकुल झैं बाँचिरहेछौ हामी ? यस्तै हामी सारा युवाहरुका आक्रोशका वर्षाहरु, बेदनाका शब्दहरु, दुखाईका तस्बिरहरु देखाएर, लेखेरैमात्रै निषेध या बहिष्कृत हुँदैन विकृत राजनीति । परिवर्तन हुँदैन राजनीतिक कुसंस्कारहरु ।

अब परिबर्तित समय निम्त्याउँन असक्षम र कमजोरहरुलाई यो देशको शासन सत्तामा निषेध र बहिष्कारको थालनी आजै बाट गरौ ।तपाईको मताधिकारबाटै निषेधको जग बसाऔं।समाजमा गलतलाई निषेध,बिकाशमा गलतलाई निषेध अनि भाबि राजनीतिमा गलतलाई बहिष्कारको थालनी गरौं।अब छातीमा हात राखेर मातृभूमिको कसम खाँदै असक्षम र खराबहरुलाई आजैबाट गाली गलौज गरेर अनि पछुताएर मात्रै होईन र पुग्दैन सत्तामा निषेधको थालनी गरौं।अवश्य परिवर्तन हुन्छ देश।संसार यसरि नै नेतृत्वमा सक्षमहरुको चयनले परिवर्तन भईसकेछ। हामीले असक्षमहरुलाई पुस्तौं पुजिरहेछौं रु देश बनाउँने सफल नेतृत्व चुन्ने तपाईको मताधिकारले हो।अब सोंच बदलौं,पुरानो साईनो बदलौं,गलत प्रयोगले यसरि नै रुवाईरहनेछ पुस्तौसम्म फेरि पनि।

तपाईंको हिजोको गलत मताधिकारको निर्णयले हेर्नुस् त देशले दुरगामी कदम चाल्नै सकेन । भोलि पनि त्यही हुनेछ, तपाईंको सोच उस्तै रह्यो भनें । चेतनाको स्तर बढाउनुहोस्, इतिहासबाट सिक्नुहोस्, संसारको विकास कसरी भइरहेको छ अध्ययन गर्नुस् । अब भोली फेरि गल्ती हुन नदिन गलतलाई निषेधको थालनी गरौं ।

  • मोहनप्रसाद खतिवडा -टोकियो, जापान
तपाईको प्रतिक्रिया