टोकियो – गल्कोट समाज क्षेत्रीय समिति नागोया जापानले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानले हात पारेको छ । अप्रिल २७ तारिक मंगलबार नागोयामा आयोजित प्रतियोगितामा जापानका विभिन्न स्थानबाट ११ टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगिताको फाइनलमा गल्कोट स्पोर्ट्स क्लब टोकियो जापान र गुम्बा भलिबल गाईज पुगेका थिए । दुई पोलमा विभाजित गरेको टाईसिटमा गल्कोट स्पोर्टस् क्लब टोकियो, गल्कोट समाज जापान र बाग्लुङ समाज जापानलाई आयोजकले एउटै पोलमा राखेको थियो । यी तीनै टीम उपाधि दाबेदार थिए । दुव उत्कृष्ट बाग्लुङ समाज र गल्कोट समाजको टीमलाई पराजित गर्दै गल्कोट स्पोर्टस् क्लबले विजयी शुरुवात गरेको थियो ।
क्वाटर फाईनलबाट ‘वेष्ट अफ फाइभ’ खेलाएको आयोजकले फाइनल खेल भने समय अभावमा ‘वेष्ट अफ थ्री’ गरेको थियो । गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानमा भलिबलको प्रबर्धनमा निरन्तर लागेको संस्थासमेत हो । यो जीतसंगै जापानमा पछिल्लो समय विभिन्न संघ संस्थाले आयोजना गरेका भलिबल प्रतियोगितामा निरन्तर चार पटकसम्म प्रथम स्थान प्राप्त गरेर इतिहास रच्न सफल भएको छ ।प्रतियोगितामा प्रथम हुने गल्कोट स्पोर्टस् क्लबले नगद ३ लाख येन, प्रमाण पत्र, मेडल र रनिङ कप प्राप्त गरेको छ भने द्वितीय हुने गुम्बा भलिबल गाईजले नगद २ लाख येन, प्रमाण पत्र, मेडल पाउँदा तृतीय हुने गल्कोट समाज जापानले नगद १ लाख येन प्रमाण पत्र, मेडल प्राप्त गरेको हो । विजयी गल्कोट स्पोर्टस् क्लबका तर्फबाट वेष्ट स्पाईक रेशम बस्नेत र वेष्ट डिफेन्डरको उपाधी मनोज केसीले प्राप्त गरेका थिए ।
आयोजकले खेलबाट भएको आम्दानीबाट धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।