नागोया – गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण सहयोगार्थ जापानमा भलिवल प्रतियोगिता आयोजना गरिएको छ। धुर्मुस-सुन्तली फाउण्डेशनद्वारा चितवनको रामपुरमा निर्माण भईरहेको उक्त रंगशाला आर्थिक अभावका कारण समस्यामा परेपछि जापानमा भलिवल प्रतियोगिता आयोजना गरेर आर्थिक सहयोग जुटाउन लागिएको आयोजकले बताएका छन्। प्रतियोगिताको आयोजना गल्कोट समाज जापान, क्षेत्रिय समिति नागोयाले गरेको हो ।
गल्कोट समाज जापान नागोयाका क्षेत्रिय अध्यक्ष रामु थापाकाजीको अध्यक्षता गल्कोट समाज जापानका अध्यक्ष यम खत्री, संरक्षक मोहन खत्री लगायत अधिकांश केन्द्रिय र क्षेत्रिय समितिको पदाधिकारीहरुको भेलाले प्रतियोगिता गर्ने निर्णय गरेको थियो । उक्त प्रतियोगिता दोश्रो संस्करण हो। प्रतियोगिता आउंदो अप्रिल २७ तारिख मंगलवारका दिन मियुसी स्पोर्ट कर्नरमा सम्पन्न हुने समाजका केन्द्रिय सदस्य भेषनाथ गौतमले जानकारी गराए ।प्रतियोगितामा सहभागी हुने टिमलाई प्रवेश शुल्क जापानी येन चालिस हजार येन तोकिएको छ भने पुरस्कार राशी क्रमश: प्रथम ३ लाख येन नगद, प्रमाणपत्र, पदक र कप, द्वितीय पुरस्कार २ लाख येन नगद, प्रमाणपत्र, पदक र कप साथै छुट्टा छुट्टै विधामा उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कारद्वारा सम्मान गर्ने पनि समाजले घोषणा गरेको छ l यस्ता प्रकारका प्रतियोगिताले एक आपसमा भावनात्मक सम्बन्ध समेत प्रगाढ हुने हुंदा सम्पूर्ण खेलप्रेमी नेपालीहरूलाई सहभागी हुन गल्कोट समाज जापानका केन्द्रिय सदस्य मनोजवम मल्लले आह्वान गरेका छन्।
प्रतियोगिताको ब्यवस्थापनको लागि मनोज के.सी. संयोजक रहने गरी खेल व्यवस्थापन समिति साथै बिभिन्न उपसमिति गठन गरी कार्य बिभाजन समेत गरिएको समाजका केन्द्रिय सल्लाहकार दिपक केसीले जानकारी गराए।
प्रतियोगिता सम्पन्न गरी वचत रकम गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि पठाईने प्रतियोगिता मूल आयोजक समितिका संयोजक तथा गल्कोट समाज नागोया क्षेत्रिय अध्यक्ष रामु थापाकाजीले बताए। यस खालको प्रतियोगिताले खेलको माध्यमबाट पनि समाजसेवा गर्न सकिन्छ भन्ने पुष्टी गरेको बताउँदै जतिसक्दो सबैलाई समाज सेवामा लाग्न गल्कोट समाज जापानका अध्यक्ष यम खत्रीले अनुरोध गरेका छन्। गल्कोट समाज जापान सामाजिक कार्यमा अगाडि रहेको संस्था हो। २०५५ सालमा स्थापना भएको गल्कोट समाजको संसारभर ३० शाखाहरु रहेका छन्।***