काठमाडौँ — विदेशमा संकलित रेमिट्यान्स नेपाल नल्याएर उतै राखेको भन्दै राष्ट्र बैंकले प्रभु मनी ट्रान्सफरलाई कारबाही गरेको छ । आफैं सहायक कम्पनीलाई कर्जा दिएको विषयमा प्रभु बैंकमाथि अनुसन्धान जारी राखेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंक सञ्चालक समिति बैठकले बुधबार प्रभु मनी ट्रान्सफरलाई कारबाही गर्ने निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७४/७५ देखि रेमिट्यान्सबापत संकलित करिब सवा २ अर्ब रुपैयाँ विदेशमै राखेको प्रमाणित भएको र त्यसका आधारमा तीन कारबाही गरिएको राष्ट्र बैंक स्रोतले बताएको छ । ‘प्रभु मनी ट्रान्सफरले यता ल्याउनुपर्ने रेमिट्यान्स विदेशमै राखेको खुलेको छ,’ स्रोतले भन्यो, ‘छानबिन, स्पष्टीकरण र त्यसका आधारमा कारबाही गर्ने निर्णय भएको हो ।’
प्रभु ग्रुपअन्तर्गतको रेमिट्यान्स कम्पनी र बैंकले गरेका गल्तीहरूबारे राष्ट्र बैंकले चासो लिएपछि प्रभु मनी ट्रान्सफरले उक्त रकम फिर्ता ल्याइसकेको छ । विदेशमा राखेको रकम फिर्ता गरिसकेको, अध्यक्ष देवीप्रकाश भट्टचनले बैंकको अध्यक्ष पद छाडेकोलगायत कारण ठूलो कारबाही नगरिएको स्रोतले बताएको छ । २०७५ सालअघिसम्म विदेशमा रेमिट्यान्स कम्पनीले पैसा प्राप्त नगरीकनै लाभग्राहीलाई रेमिट्यान्सको रकम यता भुक्तानी गर्न पाउने व्यवस्था थियो । हाल त्यसो गर्न पाइँदैन । विदेशमा रेमिट्यान्स पठाउने मानिसबाट रेमिट्यान्सबापतको रकम प्राप्त गरेपछि मात्र यहाँका लाभग्राहीलाई भुक्तानी गर्नुपर्ने व्यवस्था विदेशी विनिमय विभागले गरेको छ । तर यो निर्देशिका पालना नगरेको राष्ट्र बैंकको प्रारम्भिक छानबिनबाट खुलेको र लगत्तै यो रकम विदेशी मुद्राका रूपमा नेपाल भित्र्याई सुधार पनि गरिसकेको स्रोतको दाबी छ ।
राष्ट्र बैंकले प्रभु बैंकमाथिको अनुसन्धान भने जारी रहेको जनाएको छ । आफैं सहायक कम्पनी प्रभु मनी ट्रान्सफरलाई कर्जा दिएका विषयमा राष्ट्र बैंकले अनुसन्धान गरिरहेको हो । सोही क्रममा गत बिहीबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको निर्णयले ‘तपाईंलाई कारबाही किन नगर्ने ?’ भन्दै प्रभु बैंकका पूर्वअध्यक्ष भट्टचन र प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई पनि स्पष्टीकरणको पत्र पठाइसकेको स्रोतले बताएको छ ।सञ्चालक रहेको बैंकबाट आफू संलग्न अर्को कम्पनीलाई कर्जा दिन नपाउने व्यवस्था छ । सो व्यवस्थाविपरीत प्रभु मनी ट्रान्सफरले प्रभु बैंकबाट ऋण लिएको भटिएको स्रोतले बताएको छ । राष्ट्र बैंकले छानबिन गर्न थालेपछि भट्टचन प्रभु बैंकको अध्यक्षबाट बाहिरिए । गत पुस अन्तिम साता (२७ गते) सम्पन्न बैंकको वार्षिक साधारणसभाबाट उनी अध्यक्षबाट बाहिरिएका हुन् । साधारणसभामा सञ्चालक समितिमा उनले उम्मेदवारी नै दिएका थिएनन् ।
सन् २००५ मा स्थापना भएको प्रभु फाइनान्स विभिन्न बैंक तथा वित्तीय संस्था गाभेर हालको प्रभु बैंक बनेको हो । फाइनान्स कम्पनी स्थापना भएको दुई वर्षपछि भट्टचन अध्यक्ष भएका थिए । उनकै नेतृत्वमा प्रभु बैंकमा दुई वटा वाणिज्य बैंक (किस्ट बैंक र ग्रान्ड बैंक) र अन्य थुप्रै वित्तीय संस्था गाभिएका थिए । प्रभु समूहअन्तर्गत प्रभु बैंक, प्रभु लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रभु क्यापिटल, प्रभु पे, प्रभु हेलिकप्टर, प्रभु मनी ट्रान्सफर, प्रभु टेलिभिजनलगायत कम्पनी सञ्चालनमा छन् ।
गत आर्थिक वर्षमा राष्ट्र बैंकबाट नियमित रूपमा निरीक्षण भएको थियो । त्यसमा सानातिना केही समस्या देखिएको र ती सबै समाधान भइसकेको भट्टचनले बताए । ‘त्यही कारण समयमै साधारणसभा गरेका हौं,’ उनले भने, ‘समस्या भएको भए त राष्ट्र बैंकले साधारणसभा नै गर्न दिँदैनथ्यो ।’ यो सामान्य कैफियतमा स्पष्टीकरण सोध्ने, सचेत गराउने राष्ट्र बैंकको नियमित प्रक्रिया भएको उनको भनाइ छ । ‘अरू बैंकमा पनि यस्तो हुन्छ,’ उनले भने । यद्यपि स्पष्टीकरणको पत्र नआएको उनले बताए । बैंकको अध्यक्ष पनि छाड्नुभएछ नि भन्ने जिज्ञासामा उनले भने, ‘म २००२/०३ सालदेखि नै बैंकिङमा लागेको हुँ । अब धेरै पनि भयो । राष्ट्र बैंकबाट पनि त्यस्तै व्यवस्था पनि आयो । अरू साथीहरूको इच्छा पनि आयो । अहिले छाडेपछि फेरि आउन पाइहालिन्छ । बैंक पनि राम्रो छ । ठूलो जोखिम मोलेर समस्यामा रहेका धेरै संस्थासँगको मर्जर मेरै पालामा गरिएको हो ।’
राष्ट्र बैंकले भने जस्तो विदेशमा पैसा नराखेको रेमिट्यान्स कम्पनीका अर्का एक अधिकारीको दाबी छ । ‘विदेशबाट पैसा नल्याएको होइन, विदेशबाट पैसा ल्याउने एउटा चक्र हुन्छ, जसअनुसार कहिलेकाहीँ ४/५ दिन पनि पैसा थुप्रिन्छ,’ उनले भने, ‘यो व्यावहारिक समस्या हो । यो विषयको नीतिगत अप्ठ्यारो परिवर्तन गरिदिन राष्ट्र बैंक पनि सहमत छ । सोहीअनुसारको नीतिगत व्यवस्था गर्ने विषयमा छलफल भएको छ ।’