काठमाडौं – कोरोनाका कारण प्रभावित भएको नेपालको अर्थतन्त्र लयमा आउन थालेको छ । चालू आर्थिक वर्षको असोजसम्म औद्योगिक वस्तुको आयात १ खर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
औद्योगिक वस्तुको आयातमा हुन थालेको वृद्धिले अर्थतन्त्रमा गति आउने संकेत देखिएको राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताए । ‘कात्तिकमा पनि औद्योगिक वस्तुको आयात वृद्धि भएका तथ्यांकहरू आएका छन्,’ भट्टले भने, ‘अर्थतन्त्रमा गति आउन थालेको यसले संकेत गर्छ, यद्यपि हामी विदेशी मुद्राको सञ्चिति, शोधनान्तर बचतलगायतका आधारमा सहज अवस्थामा छौँ ।’
राष्ट्र बैंकको तथ्यांकअनुसार साउनमा २८ अर्ब २० करोड, भदौमा ३३ अर्ब र असोजमा ३९ अर्ब ५० करोड रुपैयाँबराबरको औद्योगिक वस्तुको आयात भएको छ । औद्योगिक वस्तुको आयातसँगै बैंक तथा वित्तीयको लगानी पनि औद्योगिक क्षेत्रमा बढ्न थालेको प्रतिवेदनमा उल्लेख छ । तीन महिनामा कृषि क्षेत्रतर्फको कर्जा ६ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १ प्रतिशत र निर्माण क्षेत्रतर्फको कर्जा १ दशमलव ८ प्रतिशतले बढेको छ ।
असोजसम्म कृषि क्षेत्रमा २ खर्ब ३९ लाख, औद्योगिक क्षेत्रमा ५ खर्ब ३९ अर्ब र निर्माणतर्फ ३ खर्ब ५३ अर्ब रुपैयाँबराबर कर्जा लगानी भएको छ । राष्ट्र बैंकले भदौमा प्रकाशित गरेको प्रतिवेदनमा भने यी क्षेत्रतर्फको कर्जा असारयता क्रमशः शून्य दशमलव १, शून्य दशमलव २ र निर्माण क्षेत्रतर्फको कर्जा १ दशमलव २ प्रतिशतले घटेको उल्लेख गरेको थियो ।
असोजसम्म प्याकेजिङ र प्रशोधनमूलक उद्योग, कृषि तथा वन उत्पादन, मदिरा उत्पादन, हस्तकला, टेक्सटाइल, कागज उत्पादन, प्रिन्टिङ र प्रकाशन, सिमेन्ट उत्पादनको क्षेत्रमा कर्जा लगानी वृद्धि भएको छ । यी क्षेत्रमा १ दशमलव ५ प्रतिशतदेखि ९ प्रतिशतसम्म कर्जा लगानी वृद्धि भएको हो ।
कुल आयातमा भने अघिल्लो वर्षको यही अवधिको तुलनामा कमी आएको छ । गत आवको पहिलो तीन महिनामा ३ खर्ब ३४ अर्बको वस्तु तथा सेवा आयात भएकोमा चालू आवको तीन महिनामा २ खर्ब ९२ अर्ब रुपैयाँबराबरको आयात भएको हो । त्यस्तै, कुल निर्यात १४ दशमलव ३ प्रतिशतले बढेर ३१ अर्ब रुपैयाँ पुगेको छ । यो अवधिमा २ अर्ब ६१ अर्बले व्यापार असन्तुलन कायमै छ ।
रेमिट्यान्समा वृद्धि कायमै
कोभिडका कारण रेमिट्यान्स घट्ने आकलन गरिएको भए पनि रेमिट्यान्स आप्रवाहमा कमी देखिएको छैन । गत आवको यही अवधिको तुलनामा यो तीन महिनामा १२ दशमलव ६ प्रतिशतले रेमिट्यान्स वृद्धि भएर २ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ । अमेरिकी डलरको भाउ बलियो भएका कारण पनि रेमिट्यान्स वृद्धिमा केही सहयोग पुगेको हो । यद्यपि, डलरमै रेमिट्यान्सको आप्रवाहमा पनि ६ प्रतिशतभन्दा धेरैले बढेको हो ।
रेमिट्यान्समा भइरहेको वृद्धिले शोधनान्तर (भुक्तानी सन्तुलन) कायम गर्न मात्र नभई विदेशी मुद्राको सञ्चिति बढाउनसमेत सहयोग पुगिरहेको छ । अहिले शोधनान्तर १ खर्ब १ अर्ब रुपैयाँ बचतमा छ भने विदेशी मुद्राको सञ्चिति १४ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ । कुल वस्तु तथा सेवाको आयातमा कमी भएकाले पनि विदेशी मुद्रा सञ्चिति र शोधनान्तर बचतमा सहयोग पुगेको हो ।
विदेशी मुद्राको सञ्चितिले १४ महिना एक दिनको वस्तु तथा आयात धान्न सकिने अवस्था छ ।त्यस्तै, सरकारी खर्च वृद्धि हुन नसक्दा सरकारको ढुकुटीमा पुँजी थन्किएर रहेको छ । सरकारसँग हाल २ खर्ब १३ अर्ब नगद मौज्दात छ । यो प्रदेश र स्थानीय सरकारसँगको पुँजीसहितको तथ्यांक हो । पछिल्लो तीन महिना मूल्य वृद्धिदरमा भने ३ दशमलव ७९ प्रतिशतमा सीमित छ ।
तरकारीमा २३ दशमलव १० प्रतिशत र दाल तथा गेडागुडीमा भने १३ दशमलव ८६ प्रतिशतसम्म महँगी बढेको छ । तराई र हिमालमा महँगी दर उच्च छ । तराईमा ४ दशमलव ४६, हिमालमा ४ दशमलव ३९, पहाडमा ३ दशमलव शून्य ३ र काठमाडौंमा भने ३ दशमलव ३५ प्रतिशत महँगी छ ।