काठमाडौं – बजारमा पाइने ह्याण्ड सेनिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने मेथानोल नामक विषाक्त रसायन मिसाइएको पाइएको छ । कोरोना भाइरसको रोकथामका लागि प्रभावकारी मानिएको ह्याण्ड सेनिटाइजरमा विभिन्न उद्योगले मेथानोल नामक विषाक्त मिसाइएको पाइएको हो ।
औषधि व्यवस्था विभाग (डीडीए)का अनुसार बजारमा पाइने ह्याण्ड सेनिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने मेथानोल नामक विषाक्त रसायन मिसाइएको पाइएको छ । कोरोना भाइरसको रोकथामका लागि प्रभावकारी मानिएको ह्याण्ड सेनिटाइजरमा विभिन्न उद्योगले मेथानोल नामक विषाक्त मिसाइएको पाइएको हो। राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा काठमाडौंका ४ र भक्तपुरका १ गरी पाँच वटा उद्योगले ह्याण्ड सेनिटाइजरमा मेथानोल प्रयोग गरेको हो ।
डीडीएले एक सूचना प्रकाशन गर्दै यसले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर गर्ने भएकोले उक्त ह्याण्ड स्यानिटाइजर प्रयोग नगर्न आग्रह गरेको छ । सूचनामा भनिएको छ, ‘तोकेको मापदण्ड इन्टेन्ट हेन्ड स्यानिटाइजर (अल्कोहल बेस्ड) सम्बन्धी स्तर २०७६ विपरित विषाक्त रसायन मेथानोल समावेश भएको पाइएकोले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने हुँदा सर्वसाधारणहरुले प्रयोग नगर्न-नगराउनुहुन र साथै त्यस्ता स्यानिटाइजरहको उत्पादन तथा बिक्री वितरण अबिलम्ब रोक्का राख्न सम्पूर्ण सरोकारवालाहरुलाई सूचित गरिन्छ ।’मेथानोल विषाक्तताका कारण वाकवाक लाग्ने, टाउको दुख्ने, दृष्टि धमिलो हुने तथा आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहन्छ । यसका साथै मेथानोलले छालामा समेत गम्भीर असर पुर्याउने, स्नायु प्रणालीमा असर गर्ने लगायतका समस्या हुन्छ ।