महेन्द्रनगर – कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनसँगै सुनको मूल्य बढ्दै जाँदा कारोवार भने ह्वात्तै घटेको छ । आज सुनको मूल्य ६०० ले बढेर एक लाख एक हजार चारमा पुगेको छ ।
तीज, गौरा दशैँ र तिहारजस्ता चाडपर्व नजिकिँदै जाँदा सुनचाँदीको कारोवार मौसम भए पनि यस पटक भने यहाँ कारोवार शून्य रहेको कञ्चनपुर सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष उमेश सुनुवारले बताए । ‘यस्तै अवस्थामा मूल्य बढ्दै जाने हो भने सुनचाँदी व्यवसायीले विकल्प खोज्नुपर्ने अवस्था आउने सम्भावना छ ।’
कञ्चनपुरमा १६० जना सुनचाँदी व्यवसायी रहेको बताउँदै उनले यहाँ सुन खरिदभन्दा पनि बिक्रीका लागि स्थानीय आइरहेको बताए । ‘लकडाउन शुरु भएसँगै मूल्य बढ्दै जाँदा कारोवार घटेर गएको हो ।’ उनले भने- ‘काठमाडौँभन्दा यहाँ सुनको मूल्य रु एक हजार २०० ले बढी हुन्छ ।’
यहाँ लामो समयदेखि मौलिक गहना नेपाली कारीगढले बनाउँदै आएका छन् भने आधुनिक गरगहना भारतीय कारीगढले बनाउँदै आएका छन् ।