Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – कोभिड-१९ बाट शुक्रबार वीरगञ्जमा दुई महिलाले अकालमा मृत्युवरण गर्नुपर्यो । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिकाका ८५ वर्षीया वृद्धा र बारा परवानीपुर गाउँपालिकाका १७ वर्षीया किशोरी रहेकी छिन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोभिड-१९ बाट शुक्रबारसम्म मृत्यु हुनेको सङ्ख्या ४५ जना पुगिसकेको छ ।

शुक्रबारसम्म मृत्यु भएकामध्ये ३६ पुरुष (३४ वयस्क र दुई बालक) र नौ महिला (आठ वयस्क एक बालिका) रहेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा सङ्कलित सूचनाअनुसार कोरोनाबाट ५० वर्षमुनिका २६ र सो उमेर समूहभन्दा माथिका १९ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी मृत्यु ४१ देखि ६० वर्ष उमेर समूहमा देखिएको छ । ४१ देखि ५० वर्ष उमेर समूहका ११ जना र ५१ देखि ६० वर्ष उमेर समूहका १० जनाको मृत्यु भएको छ ।

चिकित्सकका अनुसार कूल मृत्युमध्ये २६ जना (५९.१ प्रतिशत) मा कोरोना सङक्रमणबाहेक दीर्घ वा अन्य रोगसमेत देखिएको थियो । विश्वस्वास्थ्य सङ्गठनका अध्ययनले कोभिड-१९ को गम्भीर लक्षण धुमपान गर्नेमा बढी हुने देखाएको छ । सुर्तीजन्य पदार्थले नसर्र्ने रोग निम्त्याउनुका साथै नसर्र्ने रोग लागेका व्यक्तिमा कोभिड-१९ को सङ्क्रमणको जोखिम उच्च रहने पाइएको छ । यसले गर्दा चुरोट तथा बिँडीलगायत सुर्तीजन्य सेवन गर्ने व्यक्तिलाई कोभिड-१९ को सङ्क्रमण भएमा सघन उपचार कक्ष तथा भेन्टिलेटर आवश्यकतापर्ने र त्यस्ता सङ्क्रमित व्यक्तिमा मृत्युको जोखिम पनि उच्च रहने जनाइएको छ ।

परिषद्को नसर्ने रोगसम्बन्धी जोखिम तत्व सर्वेक्षणले नेपालमा २८ प्रतिशत नागरिकले चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको देखाएको छ । यसमध्ये १७ प्रतिशतले चुरोट सेवन र १८ प्रतिशतले धुवाँरहित सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको छ । नेपालमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनका कारण २७ हजारभन्दा बढी मानिसको अकालमा मृत्यु हुने गरेको सङ्गठनको तथ्याङ्क छ ।

सन् २०१९ को अन्त्यतिर चीनको उहान शहरबाट उदाएको कोरोना भाइरस शताब्दीकै स्वास्थ्य महासङ्कटका रुपमा देखापरेको छ । विश्वका १९० भन्दा बढी मुलुकको मानवीय जनजीवनलाई त्रास बनाएको कोरोनाले आर्थिक तथा सामाजिक क्षेत्रलाई नराम्रो गरी गाँजिरहेको छ । नेपालमा पनि कोराना सङ्क्रमितको सङ्ख्या १८ हजार ३७४ र निको हुनेको सङ्ख्या १२ हजार ९४७ पुगेको छ । वरिष्ठ जनस्वास्थ्य विज्ञ चिकित्सक अर्जुन कार्की भन्छन्, “कोरोनासित जुध्न रोग प्रतिरक्षा प्रणाली बलियो बनाउनुपर्छ । यसका लागि तत्काल सुर्तीजन्य पदार्थ र मदिरा सेवन छोड्नुपर्छ ।”

चिकित्सकका अनुसार सामान्य व्यक्तिलाईभन्दा सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई सबै खालका क्यान्सर हुने जोखिम ३० प्रतिशत बढी रहन्छ । क्यान्सर रोग विशेषज्ञ चिकित्सक राजेन्द्र बराल भन्छन्, “सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई जुनसुकै प्रकारको क्यान्सरको सम्भावना बढी हुन्छ । फोक्सोको क्यान्सर एक नम्बरमा छ, यसको प्रमुख स्रोत नै सुर्तीजन्य पदार्थ हो ।” कोरोनाले पनि सबैभन्दा बढी असर श्वासप्रश्वास प्रणाली र फोक्सोलाई पुर्याउने गर्दछ । गुट्खा, खैनी, सुर्तीजन्य पदार्थ चुरोटका निकोटिन, टार, कार्बन मोनोअक्साइड, रेडन, एमनिया, आसनिक आदिजस्ता करिब सात हजारभन्दा बढी केमिकल पाइने बताइएको छ । यस्ता केमिकलले स्वास्थ्यलाई गम्भीर असर पुर्याउँछ ।

अहिले पनि कोरोनाको जोखिम बढ्न नदिन सबैले बढी सतर्कता अपनाउन जरुरी छ । बन्दाबन्दीको अवस्था हटे पनि व्यक्तिगत स्वास्थ्य सावधानी अपनाउन छोड्नु हुँदैन । रासस

तपाईको प्रतिक्रिया