Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

रेडियोबाट सार्वजनिक गरिएको नम्बरमा फोन आउँछ । “हेलो सर नमस्कार, हेर्नु न लामो समय भयो ज्यामी काम गर्दै आएको थिएँ, दुई महिना भैसक्यो साहुले काममा पनि बोलाएको छैन, वडाबाट दिएको बाह्र किलो चामल सहितको राहत पनि सकियो, घरमा सुत्केरी श्रीमती छिन, खानलाई केहि नभएर हजुरलाई फोन गरेको, काम पाए पनि गर्न हुन्थ्यो, तर मेरो खुट्टा फ्याक्चर भएको छ ढलानबाट खसेर । हजुरहरुमार्फत केहि राहत पाईन्थ्यो कि भनेर ।”

पोखरा महानगरपालिका वडा नं १४ स्थित मनकामना टोलबाट कृष्ण श्रेष्ठले गरेको टेलिफोन सम्बादको केहि अंश हो यो । कृष्णजस्ता सयौँ यस्तै पीडितहरुको पीडा अहिले रेडियो मार्फत प्रत्यक्ष प्रशारित हुँदै आएका छन् ।

– जीवन सुवेदी

गत चैत एघार गतेदेखि नेपालमा बन्दाबन्दी सुरु भएपछि दैनिक ज्याला मजदुरी गरेर जीवनयापन गर्दै आएका लाखौँ व्यक्तिहरुको पीडा सुन्दै उनीहरुलाई सकेसम्म राहतको व्यवस्थापन गर्न पोखराको थ्रि एञ्जल्स सामुदायिक रेडियोले सुरु गरेको पहल कार्यक्रममा दैनिक चालीस भन्दा बढि फोनहरु आउने गरेका छन् । उनीहरुको पीडा सुनेर केहि मनकारी सहयोगी व्यक्तिहरुले राहत दिने वचनवद्धता समेत जनाउने गर्नुभएको छ । लक डाउनको २५ औँ दिनदेखि रेडियोले सुरुवात गरेको उक्त कार्यक्रम अहिले भोकाहरुको गास जुटाउने एउटा माध्यम बनेको छ । हुन त अहिले विभिन्न स्थानीय तहहरुले राहत वितरण नगरेका होईनन् । यद्यपी सबैले समानरुपले प्राप्त गर्न नसकेको भनेर जनप्रतिनिधिहरुले समेत स्वीकार गरिसकेका छन् । र कतिपय स्थानमा हुनेखाने वर्गले पनि राहत लिएको भनेर कुराहरु आईरहेका छन् । आँफूमाथि परेका हरेक समस्या र त्यसको समाधानका लागि यस किसिमको रेडियो कार्यक्रमले केहि राहत मिलेको स्वयं श्रोताहरुकै प्रतिक्रिया मिलेको छ ।

विपदमा रेडियोको महत्व

नेपालमा विक्रम सम्बत २००७ चैत्र २० गतेबाट नेपाल प्रजातन्त्र रेडियो सञ्चालनमा आएको थियो । वि सं हुँदै २०५४ सालसम्म सरकारी रेडियो मात्र सुन्न बाध्य नेपालीहरुलाई २०५४ जेठ ५ गतेबाट सुरु भएको एफ एम प्रशारणले आफ्नो पहुँचमा आएको आभाष दिलाएको हो । त्यसयता नेपालमा रेडियो खुल्ने क्रम जारी नै छ । हाल नेपालमा सरकारी, सामुदयिक, र निजि गरी ३ प्रकारका रेडियोहरु सञ्चालनमा छन् । र यी रेडियोहरु आवाज बिहिनहरुको आवाज, आर्थिक र सामाजिक रुपान्तरणको लागि परिवर्तन र विकासका लागि योजनावद्ध प्रयास, सामाजिक जनचेतना जगाउने सामाजिक अभियान, समाज परिवर्तन र विकासको संवाहकको रुपमा नेतृत्दायी र उत्तरदायी ढंगले अघि बढीरहेका छन । विश्वमा सबैभन्दा धेरै मानिसको पहुँचमा पुग्न सफल सरल र भरपर्दो माध्यम रेडियोले स्रोता र समाजबीच प्रत्यक्ष जनसहभागिता, सामाजिक द्वन्द्व न्यूनिकरणका लागि योगदान पुर्याइरहेको रेडियोको महत्व अहिले कोरोनाको महामारीमा पनि उत्तिकै देखिएको छ । सहरदेखि गाउँसम्म सूचनाको सहज पहुँच, सामाजिक र परिवर्तनका लागि महत्वपूर्ण अभियानहरु चलाएर विभेदको अन्त्य, सीमान्तकृत समुदायमा आधारित कार्यक्रममा उत्पादन गरि समाजको सन्तुलन र मूल्यमान्यतालाई सशक्तीकरण र विविधीकरण बनाउन सामुदायिक रेडियो नै मुख्य सञ्चार साधन बनेको छ ।

ईन्टरनेट, टेलिभीजन, र पत्रपत्रिकाको पहुँच नपुगेका ठाउँहरुमा पनि यसको सहज पहुँच हुने भएकाले रेडियो प्रभावकारी बनेको हो । नेपालका महामारी र विपदहरुलाई हेर्ने हो भने ती कालखण्डहरुमा रेडियोले प्रभावकारी भूमिका निभाउँदै आएको छ । नेपालमा चलेको दश वर्षे द्वन्द्व, २०६२÷६३ को आन्दोलन, २०७२ सालको भूकम्प र अहिले कोरोना विपदको बेला पनि रेडियोले श्रोतालाई सूचना, समाचार र मनोरन्ञजन प्रदान गरिरहेका छन् त्यो पनि विना शुल्क । किनकी रेडियोबाहेक आम सञ्चारका अन्य माध्यम प्रयोग गरेबापत श्रोता, दर्शक वा पाठकले कहिँ न कहिँ बाट भुक्तानी गर्नै पर्ने हुन्छ । रेडियो मात्र त्यस्तो साधन हो जसलाई खरिद बाहेक प्रयोग गरेबापत कुनै पनि शुल्क तिर्नु पर्दैन ।

विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोना अर्थात् कोभिड उन्नाईसका कारण अहिले गरिविको रेखामुनी रहेका धेरै नागरिकको चुल्हो बल्न कठिन भईरहेको छ । उनीहरुले महँगो शुल्क तिरेर ईन्टरनेट, सामाजिक सञ्जाल, टेलिभिजन हेर्ने क्षमता राख्दैनन् । तर सामान्य ४/५ सयको साधारण रेडियो सेटले उनीहरुको मनोरञ्जन र सूचनाको भोक मेटाईरहेको छ । यो कुरा यसकारण पनि यहाँ उल्लेख गरेको हुँ कि अहिले विपदको समयमा रेडियो कार्यक्रम कोरोना विपदमा गरिएको पहलमा नब्बे प्रतिशत फोन कल विपन्न वर्गबाट नै प्राप्त हुने गरेको छ । यसरी विपद् एवं संकटको घडीमा अत्यावश्यक जानकारीदेखि राहत र उद्घारको जानकारीका लागि रेडियोमै निर्भर हुनुपर्ने अवस्था अहिलेपनि हामी सामु छ । साथै विपन्न वर्ग र दृष्टिविहिनका लागि लक्षित गरिने कुनैपनि कार्यक्रम यदि राज्यले गर्न चाहन्छ भने त्यस्ता कार्यक्रमहरुका लागि रेडियो जस्तो प्रभावकारी अरु विकल्प हुन सक्छ जस्तो लाग्दैन ।

र अन्त्यमा,

वि सं २०६२ श्रावण ७ गते फेवातालको स्थलगत रिपोर्ट हिमचुली एफ एम मा प्रशारण भएपछि रेडियोको औपचारिक यात्रा सुरु गरे यता मैले मूल कर्म नै रेडियोमा बनाएको छु । यो १४ वर्षको दौरान सामुदायिक र निजि क्षेत्रबाट सञ्चालित दुबै किसिमका रेडियोमा काम गर्न अवसर मिल्यो । अहिले सम्म आईपुग्दा रेडियोमा कार्यरत जनशक्तिको सिप, क्षमता र सिर्जनशिलताले यसको प्रभावकारीता मापन गर्छ भन्नेमा म दृढ छु । पहिले चार वटा मात्रै रेडियो रहेको पोखरामा अहिले सबै गरी ३७ वटा रेडियो पुगिसकेका छन् । यसरी रेडियो संख्यात्मक रुपमा बढ्दै जाने तर गुणात्मक रुपमा यसको विकाश हुन नसक्दा अहिले पनि केहि रेडियोहरु नामका लागि मात्र रेडियो बनिरहेका छन् । एकातिर रहरमा मात्र रेडियोमा काम गर्नेहरु समेत पछिल्लो समय घट्दै गएका छन् भने अर्कातिर रेडियोमा काम गर्न चाहनेहरुले आधारभूत सीप एवं तालिमसमेत पाउन कठिन हुने अवस्था हामीसामु विद्यमान छ । कुनै समय पोखराकै कतिपय सामुदायिक रेडियोमा ठूलो संख्यामा स्वयंसेवी कार्यरत थिए । तर अहिले स्वयंसेवाले मात्र चुल्हो बल्ने स्थिति छैन । रेडियो सञ्चालकहरुले रेडियोमा कार्यरत जनशक्तिको कठिनाइ एवं समस्याहरु बुझ्ने र समाधान गर्ने दायित्व लिन सक्नुपर्दछ भने राज्यले पनि सञ्चालकहरुका पीर मर्का बुझ्नुपर्ने समय आएको छ । कतिपय रेडियोकर्मीहरु पेशाबाटै स्थापित हुने अवस्थामा पुगेका छन् । निमुख, पहुँच नभएका र विपन्न वर्गको साथमा रहने र उनीहरुको आवाज बोल्ने रेडियोहरु आँफै विपन्न हुने अवस्था आउन नदिन बेलैमा राज्यले ध्यान दिनु अहिलेको आवश्यकता हो ।

तपाईको प्रतिक्रिया