सूचना प्रविधिको विकासले संसार ‘एकै छानो मुनिको घर’ जस्तै भएको वर्तमान समाज अनि बढ्दो ग्लोबलाईजेशनको प्रभावले आज हामी हिजोका दिनमा जस्तो परेवाको खुट्टा चिठी पत्र बाधिदिएर ‘लैजा चरी हावा सरी’ भनेर भरोशामा बस्ने अवस्थामा पक्कै छैनौं । श्रीमती गर्भवती भएको खबर सहितको चिठी ससुराली पठाएको ज्वाइले छोरी जन्मेर कक्षा ३ मा पढ्दा मावली घर जाँदा त्यो पत्र त्यही दिन पुगेको जस्तो हुलाकको बिलम्ब सेवा पनि अबको पुस्तालाई केवल एकादेशको कथा जस्तै लागिसकेको छ ।
हिजो जसरी सूचना गुमराहमा बस्नु पर्ने अवस्थामा छैनौ हामी आजका दिनमा । २००७ साल मा मुलुकमा प्रजातन्त्र आएको कुरा हुम्लाका जनताले २००८ सालको अन्त्य तिर सुनेका थिए रे । प्रवेशिका परिक्षाको नतिजा हेर्न हिजो केवल एकमात्र सरकारी समाचार पत्र थियो, नतिजा आएको एक साता भन्दापछि सदरमुकाम पुगेर पत्रिका ल्याएपछि मात्र जानकारी पाइन्थ्यो । धेरै पनि भएकै छैन, केहि वर्ष कै अन्तरालमा सञ्चार जगतले हाम्रो देशमा यत्ति छिटो पाइला चालिरहेको छ कि, यसले अन्य धेरै पूर्वाधारका सुचकाङ्कलाई समेतपछि पार्दै आफुलाई अब्बल साबित गरेको छ ।
हाम्रो जस्तो विकासोन्मुख मुलुकमा त यसले यत्ति चाडो आफ्नो प्रभाव विस्तार गरेको छ भने झन् विकसित मुलुकहरुमा सूचना प्रविधिको विकास कसरी भइरहेको होला हामी सहजै अनुमान लगाउन सक्छौ । आज यहाँ प्रस्तुत गर्न लागिएको विषय नेको युट्युव मिडिया अनि यसले समाजमा फैलाईरहेको विकृतिसँग सम्बन्धित छ ।
केहिदिन अगाडीदेखि मैले यस विषयमा लेख लेख्न धेरै रिसर्च गरे अनि के यो ट्रेन्ड नेपालमा मात्र हो त भनेर बुझ्दै जाँदा यसले विश्वभरी नै ‘बेतुक’ को खबरलाई चाडो फैलाउने (भाइरल) हुने प्रवृति रहेको पाइयो । जुन कुराको नियमन गर्न धेरै मुलुकहरुले प्रभावकारी संयन्त्र नै बनाएर परिचालन गरिसकेको र यस्ता किसिमका अफवाह फैलाउने काम गर्ने सबैलाई कारवाही गर्ने गरेको पाइयो । वास्ताविक सूचनालाई अनावश्यक रङ लगाइ अनेकौ फुल बुट्टा भरेर कुन शब्द, शीर्षकले तुरन्तै कौतुहलता देखाउछन्, त्यो शीर्षक लेखेर भित्र बेतुकको समाचार सामाग्री राख्ने मुलुकमा सायद हाम्रो नाम अग्रपंतिमा आउछ होला । के यी अफवाह कै निमित्त मात्र यस्ता सामाजिक सञ्जालको प्रार्दुभाव भएको हो त ? यि र यस्ता विषयमा कलम चलाउनु अघि यसको इतिहास अध्ययन गर्नु आवश्यक छ ।
इन्टरनेट :-
टिम बर्नर्स लीले सन १९६० को दशकमा अमेरिकाको रक्षा विभागको अनुसन्धान गर्नका लागि विकास भएको इन्टेरनेट अहिले यसको प्रयोगकर्ता तीन अर्बमाथि रहेको छ । सुरुवात ताका ‘अर्पनेट’ नामाकरण गरिएको यसको नामपछि मात्र ‘इन्टेरनेट’ भएको हो । यसलाई पछि अक्सफोर्ड विश्वविद्यालयले बिस्तार गरेको थियो । सूचना आदन प्रदान गर्न छिटो छरितो बनाउन यसको सुरुवात भएको मानिन्छ ।
फेसबुक :-
युवा विद्यार्थी जुकर्वर्कले सन २००५ मा आफ्ना हाराएका प्रियजन भेट्न सकिन्छ कि भन्ने हेतुले स्थापना गरेका एक गुगल इन्जिनले अत्यन्तै छोटो समयमै यत्ति लोकप्रियता हासिल गर्यो कि आज विश्वको १ दसमलब ७ बिलियन जनसङ्ख्याले यो सेवाको प्रयोग गरिरहेको पाइएको छ । सन २००७ मा यसको ब्यापक सम्भावना देखेर विबश्वको ठुला औद्योगिक घराना माइक्रोसफ्टले यो सञ्जाल आफैले खरिद गरी यसका संस्थापकलाई नै प्रमुख बनाएर सेवा प्रवाह गर्न लागेपछि भने त्यी युवा विद्यार्थीले कहिलै पछाडी फर्केर हेर्नु परेन । यत्ति चाडै छलाङ मारेर एक कोशेढुङ्गा नै साबित गरी दियो । समाजिक सञ्जाल मध्य सबै भन्दा लोकप्रिय यो सञ्जाल बनाउने विद्यार्थी हिजो कलेज शुल्क तिर्न ‘पार्टटाइम’ काम गर्ने गरेकोमा अहिले फोर्ब्स म्यागजिनका अनुसार उनी विश्वको पाचौं धनी व्यक्तिभित्र परेका छन् ।
युट्युब :-
सन २००५ मै हुर्लेर्ल्री चेड हर्ली, स्टीब चेन अनि जावेद कारीम नामक एप्पल कम्पनीका दिग्गज आइटी इन्जिनियरहरुको संयुक्त पहल कदमीमा यसको सुरुवात-आविस्कार भएको मानिन्छ । फेब्रुअरी १४ यानिकी प्रणय दिवसका दिन डेटिङ साइट्का लागि बनाएको यस साइटले पनि स्थापनाको छोटो समयमै आफ्नो विकासमा फेसबुकले झै छलाङ नै मारेको छ । स्थापना कै १८ महिना पश्चात गुगल जस्तो प्रसिद्द इन्जिनले यो खरिद गरेपश्चात यसले दिन दुइ गुणा रात चौगुणा ब्यापकता पाएको हो । एक सर्वेक्षण अनुसार हाल युट्युबमा दैनिक सरदर एक करोड भिडियो अपलोड हुने गर्दछ भने हाल यसको प्रयोगकर्ता डेढ अर्बभन्दा माथी रहेको छ ।
तर यसरी विभिन्न सकारात्मक कार्यका लागि स्थापना भएका यस्ता सञ्जालहरुमध्ये हाम्रो मुलुकमा आइपुग्दा युट्युब मिडियाहरुले पस्कने अतिरञ्जना सहितको बेतुके खबरले जग हसाइ भइरहेको छ । के भन्दा चाँही धेरै भन्दा धेरैले त्यो हेर्छन अनि आफ्नो भ्युज र सब्स्क्राइब बढ्छ, त्यस्तै त्यस्तै ‘पाङ न पुच्छर’का शीर्षक राखेर अतिरञ्जनासहित खबर सम्प्रेषण गरिरहँदा विपदको बेलामा जनताहरु थप अन्यौलमा हुने र झन् डर चिन्ता थपिने गर्दछ । यस्ता भ्रामक खबरले जनमानसमा पार्ने प्रभाव आकलन नै नगरी गैरकानुनी कुरालाई बढाइचढाइ गर्ने प्रवृतिले त्यसै त चिन्ता र डरको अवस्थामा बसेका सर्बसाधारण हरुमा थप चिन्ता बढाउने काम यिनै कुपात्रहरुले गरिरहेका छन् ।
यसो बाहिर तिरका विदेशी मिडियाहरु हेर्यो, जहाँ कत्ती चाखलाग्दा समाचारहरु आइरहेका हुन्छन्, विश्वका मिडियाहरुले ‘आज नासाका वैज्ञनिकहरुले यो पत्ता लगाए, विश्व बजारमा आज यत्ति अङ्कले कारोबार भयो, इरान र उत्तर कोरियाले संयुक्त रुप मा सैन्य अभ्यास गर्ने घोषणा, एप्पल कम्पनीले माइक्रोसफ्टसँग मिलेर यत्ति रकम समाज सेवाका लागि बिनियोजन लागायतका खबर पस्किरहेको बेला तर हाम्रा बिचरा मिडियाहरु चाँही ‘एस बाट नाम आउनेले मिठो खाना पकाउछ्न रे, सुपा देउराली मन्दिरः जहाँ लाईक गर्दिना साथ नसोचेको कुरा पूरा हुने गर्छ ।’
‘भुमी सुधार मन्त्रीले स्याङ्जा पुगेर गरिन कर्मचारीहरुलाई निर्देशनः काम राम्रो सँग गर्नु’, तेह्रथुमको सामुहिक हत्या प्रकरणमा मुलधारका मिडिया भन्दा अगाडि त्यीनै कुपात्रहरु पुगेछन् र त्यहाँको बातावरण लाईभ दिदै एक सत्यले सो दुर्घटनामा बाच्न सफल सानी बालिकालाई सोधेको प्रश्न देख्दा जो कोहीले पनि भाटो निकालेर बजाउन मन लाग्ने थियो । ‘सबै भन्दा पहिला कसलाई काट्यो, अनि रगत कती जती आयो, तिम्रो मनमा त्यो देख्दा कस्तो फिल भयो ? तिमी अहिले त्यो मान्छेलाई भेट्यौ भने के गर्छौ,’ जस्ता एकदमै सम्बेदनाहिन प्रश्न सोधेको हुँदा त्यस्तालाई खबर सम्प्रेषण गर्ने अधिकार कसले दियो ? २०७२ सालको भूकम्प जाँदा, सबै जनता डर चिन्तामा बसिरहेका बेला यिनीहरु चाँही अझै ९ रेक्टरको भूकम्प जान्छ भनेर नासाले भन्यो रे, एकछिन आउछ रे, यती बजे आउछ रे, उति बजे आउछ रे, अनेक अनेक डर देखाइदिएर आफ्नो भ्युज बढाउन खोज्ने प्रवृतिबाहेक अरु केहि बाकी देखिन्न ।
विषय केहि पाउदैनन् अनि कहिले जोगी, कहिले भोगी, कहिले ढोङ्गी, कहिले रोगीलाई मिडियामा स्थान दिएर आफ्नो गुजारा चलाउने परिपाटी । खबरको हेडिङ देख्दा पनि झर्को लागेर आउने हुन्छन् । उदाहरणका लागी जस्तै ‘शिल्पा रुदा रुदा साउन भदौको बर्खाको पानी भन्दा धेरै आसु झर्यो’, ‘दयाहाङ राइलाई सन्तान प्राप्ती, के जन्मियो हेर्नुहोस्’, ‘वरिष्ठ विश्लेषक पुण्य गौतमले गरे एक खुलासा, यो सरकार जनताको हितमा छ’, ‘अन्तरवार्ता मै सुरेन्द्र केसी यसरी भक्कानिए’, ‘धुर्मुस–सुन्तली कै सामुन्ने सुबोध गौतमले पिसाब उम्कने गरी यसरी हसाए’, ‘वरिष्ठ नारी अधिकारवादी नेत्री साबित्री सुबेदीले भनिन् आफ्नो रजस्वलाको रगतले मन्दिरको भित्ता पोत्न मन छ,’ ‘हनिमुनपछि नायिका रिचा शर्मा पहिलो पटक मिडियामाः भनिन् मज्जा आयो’, ‘गगन थापाको अहिलेसम्मको डरलाग्दो खुलासाः कम्युनिस्ट सरकारले जनहितमा काम गर्न सकेन’ यस्तै-यस्तै …।
केहि दिनअघि मात्रै ‘टेकु, नर्भिक अनि विरगञ्जमा कोरोनाले नेपालीको मृत्यु’ खबर बिना स्रोत, बिना सत्य बिना प्रमाणका भरमा प्रसारण भयो अनि स्याल हुइयाले बुझ्दै नबुझी युट्युबेको पछि लागेर केहि मुलधारका मिडिया कर्मीले पनि ब्रेकिङ न्युज नै बनाए तर जुन असत्य साबित भयो र उनीहरुले एक प्रेस बक्तब्य नै जारी गर्नु पर्यो । यस्ता भ्रामक र दुख दिने खालका खबर प्रकाशन गर्नेलाई भरपर्दो कानुनी कारबाही गर्न सकिएन भने यी ‘तोरीलाहुरे’हरुको मनोबल झन् बढेर जान्छ र कालान्तरमा यिनिहरुले आफु हिट कसरी हुन सकिन्छ्, केवल त्यो मात्र गरेर जनमानसमा झन् अन्यौलता छर्छन् ।
के माथिका कुनै खबर शीर्षकमा कुनै दम वजन अनि तुक छ होला र ? कसले भने वरिष्ठ त्यस्ता स्वाठहरुलाई अनि नेताले देश विकास गर्नु पर्छ भन्दा त्यो पनि समाचार शीषर्क बन्छ होला र ? यसो सम्झदा लाग्छ धिक्कार हाम्रा मिडिया अनि झन् धिक्कार त्यस्ता पीत पत्रकारिताका गर्नेहरुलाई । जसलाई अरु कसैको कुनै पर्वाह छैन । यो सबै देख्दा र सुन्दा यसका आविस्कारकहरु पनि हाम्रा देशमा आए भने ‘धिक्कार मैले के यत्तीका लागी नै हो त यत्रो दुख गरेर यसको आबिस्कार गरेको’ भनेर ओठ लोपार्दा हुन् ।
यहाँ मैले बुझ्न नसकिरहेको कुरा चाहि, यि युट्युबहरुलाई समाचार प्रकाशन प्रसारण गर्न अनुमती कसले दियो ? यदी बिना अनुमती उनीहरुले जथाभावी बेलगाम बर्बाराउदै हिड्छन् भने त्यो गैरकानुनी काम भइरहँदा राज्यले किन कठालो समाएर तह लगाउन नसकेको होला ? केहि पहिलामात्र नेपाल सरकारले जारी गर्न लागेको मिडिया विधेयकले यि र यस्ता मिडिया पोर्टलहरुलाई नियमन गर्ने कुरा उल्लेख भएको थियो जुन संसारबाट पारित हुनु अगाडी मुलधारका मिडिया अनि राम्रा पत्रकारहरु समेतले बिरोध जनाएको कारण स्थगन भएको छ । जहाँ सबै कुरा राम्रा नभएको भए पनि यस्ता युट्युबेहरुलाई तह लगाउने खालका केहि धारा अत्यन्तै सराहनीय थियो तर अपसोच त्यो पास हुन पाएन ।
यस आलेखको मुल मर्म त्यी राम्रा, खोज मुलक अनि यथार्थ परक खबर अनि मनोरञ्जनात्मक सामाग्रीहरु प्रसारण गर्ने युट्युबरहरुलाई निरुत्साहन गर्न खोजेको चाँही पक्कै होइन । यो केवल त्यी भ्रमक समाचार फैलाउनेलाई शाब्दिक झापड हान्न खोजिएको हो, जसमा जनमानसको कर्तब्यबोध एक रत्ती पनि छैन । अन्त्यमा मेरो सरकारसँग एक मात्र अनुरोध यो छ कि, युट्युबको काम केवल सीमाभित्र बसेर मनोरञ्जनात्मक समाग्रीहरु पस्कने हो । यिनीहरुले पत्रकारिता गर्ने होईन अनि सामाजिक सञ्जालले पनि आफ्नो परिधि नाग्नु भएन । यस्ता भ्रामक खबर सम्प्रेशण गर्ने च्यानलहरुको प्रकाशन तुरन्तै बन्द गरिदिनु पर्दछ र त्यस्ता खबर दिनेलाई कारबाहीको दायरामा ल्याउन कानुन द्रुत मार्गबाट बनाएर भएपनि यस्ता गलत कामलाई निरुत्साहित गरिहल्नु पर्छ अन्यथा यस्ता युट्यबेहरुले समाजमा झन् आतंक सिर्जना गर्दछन् भने बिपदका समयमा झन् पीडामाथी पीडा थपिदिने काम गरिरहेका छन् ।
जतीसक्दो डरमर्दो कुरा गर्न सक्यो त्यत्ति कौतुहलता बढ्ने अनि सो कारण आफ्नो भ्युज बढ्ने कारण यिनीहरुको काम नै त्यस्तै खालको हुन्छ । शीर्षक एक हुन्छ्, अनि क्लिक गरेर हेर्दा गुदी अर्कै हुन्छ । अतिरञ्जनावाला शीर्षकले कहिल्यै सार्थकता पाउन पाएको देखिन्न । ‘शेरबहादुरको हत्या, प्रचण्ड आजबाट मालेमा’ जस्ता कौतुहलता बढाउने शीर्षक प्रायः सबैले पढ्न चाहन्छन् र क्लिक गर्दा शेरबहादुर भनेको प्युठान जिल्लाको शेरबहादुर परियार हुन्छ अनि प्रचण्ड मालेमा भनेको माल्दिभ्स देशको राजधानी भ्रमणमा पुगेको खबर हुन्छ । यस्तै खबरका हेडिङ राखेका र यस्ता खबरलाई शेयर गर्ने पनि भर्खरै सामाजिक सञ्जाल चलाउने विशेषरी सिकारुहरुले गर्ने गर्दछन् ।
अनि अर्को हाम्रा सामाजिक सञ्जाल विशेषगरी फेसबु चलाउने सिकारु भनौ कि खै के भनौ विशेषतः गाउघर तिरका साथीहरु आफुले चिनेकादेखि त्यो चिनेकाहरुले चिनेकाहरुसम्म नै एड भएका हुन्छन् अनि उनीहरुले पनि आफ्नो ब्यक्तिगत सिङ्गल फोटो अनेक राम्रा-राम्रा क्याप्सन (जुन क्याप्सन चाँही सोही फेसबुकबाट नै कपी गरेका हुन्छन्) त्यो लेखेर भएभरका जम्मैलाई ट्याग गरिदिने स्वभावका हुन्छन् । अनि त्यो क्याप्सनको बारेमा त्यस्तै अन्य बेरोजगार मित्रहरुको टाइम पासको मेलोमेसो बन्छ र ‘कस्तो राम्रो बाणी’ भनेर जिकिर हुन्छ तर त्यो भनाई चाँहि कहिले काही गान्धीको पर्छ भने कहिले मण्डेलाको । उनीहरुले जे पायो त्यो नै सेयर गर्ने अनि फोटोको पोस्टसँग कुनै तालमेल नखाने देख्दा ‘खै के गर्नेलाई भन्दा देख्नेलाई लाज’ जस्तो भान हुन्छ । हासिरहेको फोटो राखेर ‘फिलिङ स्याड’ क्याप्सन लेखेको पनि धेरै देखिन्छ ।
भैंसी चराउन वन पाखामा सुशेल्नै हिड्ने बिर्खेले ‘सेलेब्रेटिङ बर्थ डे’ भनेर केक काटेको फोटो पोस्ट गर्छ । त्यो पनि एक जनाको मात्र हो र, भए भरका सबै फेसबुकका सबैजनाको । विशेषगरी हाम्रा गैससकर्मीहरु र स्थानीय सरकारका व्यक्तिहरु त झन् देख्नै दिक्क लाग्ने खालका पोस्ट गरिरहेका हुन्छन् । २० पर्ने २ दर्जन कापी र १५ पर्ने केहि थान कलमलाई विद्यार्थीहरुलाई प्रदान गरेको फोटो धेरै भन्दा धेरै खिचेर फेसबुकमा पोस्ट गर्ने अनि उनीहरुका त्यस्तै बेरोजगार मित्रहरुले कमेण्ट गर्दा ‘वरिष्ठ समाजसेवी अनि शिक्षाका अभियन्ता उपमासहित लाईक र सेयर गरिरहेका देखिन्छ । जसलाई पत्रकारिताको ‘प’समेत थाहा छैन अनि आमसञ्चारको सिद्धान्त समेत थाहा नहुने स्वाठहरुले एउटा ‘डिएसएलआर’ क्यामेरा घाँटीमा झुण्ड्याउन साथ सञ्चारकर्मी अरे । न त कुनै दर्ता, न कुनै कार्यालय न कुनै आवद्धता न त कुनै इजाजत न त कुनै सेन्सरसिपको पालना, न कुनै सामाजिक दायित्व । भ्युज कै आधारमा बिज्ञापन सङ्कलन गरी पैसा असुल्ने हसुरी प्रवृति ।
दुखी भोका नाङ्गाहरुको संवेदनशील भिडियोसमेत बनाई उनीहरुको दयनीय अवस्थालाई झन् कारुणीक बनाएर शुभ चिन्तकहरु विशेषरी परदेशिएकाहरुबाट रकम असुली गरी लाख उठाइएको छ भने केहि केजी चामल र केहि जोर कपडा किनिदिएर त्यस्ता राहतलाई अनेक अनेक फुल बुट्टा भरेर भिडियो बनाएर त्यसलाई बाघ नै मारेर आएको जस्तो अनेक गर्जनका साथ एनिमल प्लानेटमा वन्यजन्तु खोज्न जाँदा ‘ओह माइ गड’ भनेर बोले जसरी बेस्सरी कनेर ‘उफ…उफ…’ गर्दै के–के न गरेको जसरी भिडियो एङ्गल एङगलबाट खिची सोलाई उहि ‘आम्मा मा …’ वाला शीर्षक दिएर सोबाट भ्युज अनि सब्स्क्राइब बटुल्ने ‘युटुब्बे कुपात्रहरु’ले गर्दा आज धेरै राम्रा राम्रा काम गर्न चाहने पत्रकारहरु र असल नियतका युट्युब सन्चालकहरुले समेत बदनामी हुनु परेको छ ।
साधन आफैमा कहिल्यै समस्या होइन, यो त साध्य गर्ने पात्रले हो यसलाई बिगार्ने । फेसकुक, युट्युव, भाइबर लगायतका सञ्जालहरुले प्रायः सबै मुलुकहरुमा आफ्ना–आफ्ना प्रतिनिधीहरु नियुक्त गरेका हुन्छन् जसले सोमा हुने अमर्यादित पोस्टहरुलाई सेन्सर गर्ने काम त पक्कै गर्दछ तर कुतर्कहरु अनि सम्बेदनाहिन कुराहरुलाई यसले अटो सेन्सर गर्न सक्दैन तसर्थ यस्ता काम नलाग्ने खालका जथाभावि पोस्ट्याई गर्नेहरुलाई नियमन गर्न योसँग सम्बन्धी कानुन बनाएर व्यवस्थित गर्न ढिलो भईसकेको छ । सबै तालुकदार निकायलाई बेलैमा चेतना भया ।