काठमाडौं – न्यूजील्यान्डले समुदायमा हुने स्थानीय सङ्क्रमण रोकेको बताउँदै कोरोनाभाइरसलाई निर्मूल पारेको बताएको छ । केही दिनसम्म दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या एक अङ्कमा मात्रै बढेपछि प्रधानमन्त्री जसिन्डा आर्डनले भाइरस अहिले निर्मूल भएको बताएकी छन् ।
तर अधिकारीहरूले यो घोषणाबाट उत्साहित नहुन चेतावनी दिँदै यसको अर्थ नयाँ कोरोनाभाइरस सङ्क्रमण अन्त्य भएको अर्थ ननिकाल्न भनेका छन् । न्यूजील्यान्डले कडा खाले सामाजिक प्रतिबन्धहरू हटाउनु केही घण्टा अगाडि यो घोषणा भएको हो । मङ्गलवारबाट स्वास्थ्य सेवा, शिक्षा र अन्य व्यवसायहरू सुचारू हुने गरी प्रतिबन्ध हटाइएको हो ।
धेरै मानिसहरू अझै पनि घरमै बस्नुपर्ने र सामाजिक जमघट गर्न नहुने नियमहरू भने कायम छ । ‘हामी अर्थतन्त्रलाई खोल्दैछौँ तर मानिसको सामाजिक जीवन खोल्दै छैनौँ,’ सरकारको नियमित पत्रकार सम्मेलनमा आर्डनले भनिन् । न्यूजील्यान्डमा १,५०० जनाभन्दा कमलाई सङ्क्रमण छ भने १९ जनाको मात्रै मृत्यु भएको छ।
खराब अवस्थाबाट बचियो
न्यूजील्यान्डका स्वास्थ्य महानिर्देशक एस्ले ब्लूमफिल्डले हालैका दिनमा भएका कम सङ्क्रमणले ‘निर्मूल पार्ने लक्ष्य प्राप्त गरेको विश्वास गर्ने’ आधार बनेको बताए ।
तर उनले यसको अर्थ नयाँ सङ्क्रमण नै नहुने लगाउन नहुने बताउँदै ‘यसको अर्थ नयाँ सङ्क्रमण कहाँबाट आइरहेका भने थाहा हुने अवस्था बनाएको’ बताए । आर्डनले न्यूजील्यान्डमा परीक्षण नभएको ठूलो सङ्ख्याको समुदायमा सङ्क्रमण नभएको बताउँदै यो युद्ध जितेको बताइन् ।
तर उनले यही अवस्था राखिरहन देश सावधान अवस्थामा रहनुपर्ने बताइन् । न्यूजील्यान्डले केही दर्जन सङ्क्रमण मात्रै हुँदा कडा प्रतिबन्धहरू लागु गरेको थियो । महामारीको रूप लिनु अगाडि नै न्यूजील्यान्डले सीमा नाकाहरू बन्द गरेर वृहत् परीक्षण शुरू गरेको थियो । आर्डनले त्यति नगरेको भए आफ्नो देशमा दैनिक १,००० नयाँ सङ्क्रमणको अवस्था आइपर्ने थियो भनेकी छन् ।