Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – उदयपुरको भुल्केमा थप ८ जनामा कोभिड- १९ को संक्रमण रहेको पुष्टि भएको छ ।

विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएको थियो । त्यस क्रममा आठै जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश सरकारले मंगलबारबाट पुरै जिल्लालाई चारैतिरबाट सील गर्ने निर्णय गरेको छ । उदयपुरबाट अन्य जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि यस्तो निर्णय गरेको हो ।

उदयपुर जिल्लाभित्रै पनि अन्य ठाउँमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन तथा उदयपुरबाट अन्य जिल्लामा पनि संक्रमण फैलिन नदिन पूर्ण रुपमा लकडाउनका साथै सिल गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

मस्जिदमा बसेका १२ जनामा संक्रमण देखिएसँगै मस्जिद भएको बस्तीका ६० जना सर्वसाधारण र ९ जना कर्मचारीको गरी ६९ जनाको थ्रोट स्वाबको नमूना शनिबार संकलन गरिएको थियो । कोशी अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनीहरुमध्ये ६० जनाको रिपोर्ट नेगेटिभ आएको र ८ जनामा कोरोना संक्रमण देखिएको थियो । एकजनाको रिपोर्ट आउन बाँकी छ ।

थप यकिन गर्न आठजनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्दासमेत संक्रमण देखिएको पुष्टि भएको प्रदेश १ का मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ । यससँगै भुल्केमा संक्रमितको संख्या २२ पुगेको छ । थप आठ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।

तपाईको प्रतिक्रिया