टोकियो – कोरोना भाइरस कोभिड १९ को संक्रमणले विश्वलाई नै सकसमा पारेपछि स्थगित गरिएको गृष्मकालीन ओलम्पिकको नयाँ मिति तोकिएको छ ।
जापानमा यसै वर्ष अर्थात २०२० को जुलाईमा हुने भनिएको गृष्मकालीन ओलम्पिक कोरोनाको कहालीका कारण यस अघि एक वर्षका लागि सारिएको थियो ।
आज अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसी, जापान सरकार र जापान ओलम्पिक कमिटी जेओसीका पदाधिकारीबीच टोकियोमा बसेको वैठकले स्थगित ओलम्पिक अर्को बर्ष अर्थात सन् २०२१ को जुलाई २३ देखि अगष्ट ८ सम्म गर्ने निर्णय गरेको छ ।
विश्वभर फैलिएको कोरोना भाइरस कोभिड १९ को प्रभावका कारण जापान पनि अछुतो छैन भने विश्वका अधिकांश देश पनि खेलकुदको वातावरण बन्द गरेर यतिखेर कोरोना भाइरसविरुद्ध संघर्षरत छन् ।
कोरोना भाइरसको संक्रमण फैलन थालेदेखि नै जापान र आईओसीमाथि ओलम्पिक सार्न चर्को दबाब बढेको थियो । दबाब बढेपछि जापानका प्रधानमन्त्री सिन्जी अबेको विशेष प्रस्तावमा ओलम्पिक स्थगित गर्ने निर्णय लिइएको थियो ।