रातीको १२:३० बजेको हुन्छ । म टोकियोस्थित कोइवाको सानो डेरामा खाना खाएर भर्खर संसारमा कोभिड–१९ को बारेमा अध्ययन गर्दै हुन्छु । चीन, इटाली, स्पेन, इरान र अमेरिकाको संक्रमित तथा डेथ अवस्था हेर्दा निकै डरलाग्दो देख्छु । जापानको हकमा पनि कोरोना भाइरस करीव करीव सवै प्रान्तमा पुगिसकेको छ । टोकियो अहिले होक्काइदोलाई उछिनेर कोरोनाको केन्द्र बिन्दु बनेको छ । हिजोमात्र एकै दिनमा ४० संक्रमितको संख्या थपिएपछि टोटल २ सय १२ जना संक्रमित संख्या पुगेको छ । संक्रमितको संख्या अरु कैंयौ थपिन सक्छ । जापानभरी करीव २ हजारको हाराहारीमा संक्रमित भएको तथ्याकंले देखाएको छ भने ५० भन्दा बढीको डेथ भैसकेको छ । विश्वमा कोरोनाले ल्याएको विपत्तिलाई जापानले कसरी हेरिरहेको छ हामीले बाहीरबाट बुझ्न सकिने कुरा भएन । आगामी जुलाईबाट शुरु हुन लागेको ओलम्पिक २०२० पनि जापानले खेल खेलाएरै छाड्ने अड्डी लिइरहेको बेला अमेरिका तथा युरोपियन कन्ट्रीहरुको दबावमा एकसाल पर सारिएको छ । यहाँ केही समय पहिला बन्द गरिएका स्कुल कलेजहरु पनि अप्रिलबाट खोल्ने भनिएको छ । हिजोमात्र टोकियो कि गभर्नर कोइकेले पत्रकार सम्मेलन गरेर जनतालाई अति आवश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन भनेकीछन् । भिडभाडहुने होटल, रेष्टुरेन्ट, बस, रेल, सपिङग सेन्टरहरुमा पनि नजान उनले अनुरोध गरेकी छन् । यदी जापान सरकारले हिम्मतका साथ कोरोना भाइरसको बारेमा कडा कदम समयमै नचाल्नेहो भने कोरोना भित्रभित्रै आगो जस्तै सल्किने र युरोपमा र अमेरिकामा जस्तै बिकराल अवस्था आउने कुरामा निश्चित जस्तै छ ।
मैले आफ्नैभित्रै गन्थन गरिरहको बेला एकजना साथीको फोन आउछ । मैले उहाँलाई सन्चो विसन्चोका बारेमा सोध्छु । उहाँले हिजो आफुमाथि एउटा चाखलाग्दो घटना घटेको कुरा गर्नुहुन्छ । हामीसंग समयको अभाव थियो, आधारात भैसकेकोले म उहाँलाई के हो त्यो घटना सुनाइहाल्नुस भनेर अनुरोध गर्छु । उहाँले हिजो आफु नयाँ गाडि किन्न बाहिर बजारमा गएको, गाडिको ठूलो शोरुममा डुलेर गाडी हेरिरहँदा हावाले हानेर टाउको दुख्ने, रुघालाग्ने भएकोले हस्पिटल गको थिएँ । हस्पिटलको काउण्टरमा पुगेर, आइडी कार्ड, हेल्थ इन्सुरेन्स कार्ड बुझाएर रुघाखोकी लागेको टाउको दुखेको वताउँदासाथ मलाई काउण्टरबाट बाहिर निकाले । हस्पिटलको बाहिर सानो बेन्चमा बस्न लगाइयो । त्यहाँ हावा चलेर मलाई झन झन सकस भयो – उहाँले थप्नु हुन्छ १–२ घण्टा सम्म मलाई कोही भेट्न आएनन् निकै लामो समयको पर्खाइपछि त हेर्नुस सेतै कपडा पहिरिएका, मुख ढाकिएका, मास्क लगाएका मानिसहरुले मलाई लामो डण्डीमा जडित यन्त्रले अलिपरैबाट ज्वरो नापे । त्यसपछि मलाई भित्र लगियो र यसरी विरामी भएको खण्डमा फोन गर्नु, हामीले एम्बुलेन्स पठाउँछौं अनि मात्र हस्पिटल आउने आफै नआउनु भनेर सुझाव दिएछन् । अहिलेलाई सामान्य चिसोको औषधी दिइएको छ यसले नभएको खण्डमा फोन गर्नु भनेर सुझाएछन र पैसा लिंदा र फिर्ता गर्दा समेत अलग्गै प्लाष्टिकमा राख्न लगाउने र राखिदिए भनेर गुनासो गर्नुभयो ।
यसले के देखाउँ छ भने कोरोनाको समस्या कति जटिल र खतरनाक छ भन्ने कुरा यहाँको र विश्वको अहिलेको अवस्थाले देखाउँछ । जापानमा सबैले समस्याको जटिलतालाई बुझि-बुझिकन पनि किन उचित व्यवस्थापनका लागि आनाकानी गरिएको हो ? जनताको सुरक्षा चासोको विषय ठूलो हो कि व्यापार विजनेस ठूलो हो ? जनतालाई खतरामा पारेर गरेको उन्नती र प्रगतीले विश्वसामु के अर्थ राख्ला ? अहिले पनि जापानको जनजीवन सामान्य नै छ । होटल, रेष्टुरेन्ट रेल गाडी, बस, अन्य यातायात सेवा सवै सुचारु रुपमा चलिरहेका छन । आईची प्रिफेक्चरमा एकजना कोरोना लागेको मान्छे कोरोना सार्छु भन्दै रेष्टुरेन्टमा गएर खाना खाएको, स्टाफसंग गीत गाएको थियो त्यो मानिसको केही दिनमै मृत्यु भएको कुरा पनि आएको थियो । र उसले त्यहाँ दुईजनालाई कोभिड १९ सारेर गएको कुरा पछि आयो । कोरोनासंग डराउनु पर्ने एउटा डरलाग्दो केस के हो भने कोरोना सरेपछि १–१४ दिनमा त्यसले सिम्टम्स देखाउछ तर मानिसमा कोरोनाको लक्षण नदेखिंदै स्वस्थ मानिसले हजारौं मानिसलाई कोरोना सार्ने क्षमता राख्ने भएकोले यस्ले अरु थप खतरा थपेको हो । कोरोनाको संक्रमणलाई साम्यपार्न लक डाउनको विकल्प छैन । तर जापान सरकाले अँगालेको अहिलेको उदार नीति “म पिटेजस्तो गर्छु तँ रोए जस्तो गर” भने जस्तै रेल, वस, होटल रेष्टुरेन्ट सबै चलिरहन्छन तर जनता तपाईहरु बाहिर निस्कनु भएन भनेर त्यति सजिलै गरिएको अनुरोधले के कोरोना साम्य होला र ? जापानमा मास्क लगाउने र अल्कोहल प्रयोग गर्ने फेसन जस्तै भएको छ तर त्यो मात्र कोरोना नियन्त्रणका लागि उपयुक्त माध्यम होइन भन्ने कुरा विश्वको अभ्यासले देखाई सकेको छ । अल्कोहल तथा सेनिटाइजर जस्ता वस्तुले शतप्रतिशत कोरोना भाइरस मार्न नसक्ने कुरा पनि विश्व श्वास्थ्य संगठनले बताएको छ ।***