काठमाडौँ – महाभारतमा विदुरले आफ्नो जासूसहरूबाट दुर्योधनले गरेको षडयन्त्र र तयारीको बारेमा निरन्तर सूचना पाइरहेका थिए । पाण्डवहरूलाई वाराणावतमा जान रोक्न सक्ने शक्ति विदुरसँग थिएन । तर, उनीहरुको सुरक्षाको पनि उस्तै चासोको विषय थियो । वाराणावत जानुभन्दा पहिले पाण्डवहरू माता कुन्ती र महात्मा विदुर लगायतलाई प्रणाम गर्न आएका थिए । यो अवसरमा विदुरले युधिष्ठिरलाई सोधे, “वत्स, यदि जंगलमा भयंकर आगो लाग्यो भने जंगलको कुन जनावर सुरक्षित रहनेछ ?“
युधिष्ठिरले जवाफ दिए “महात्मा, जब जंगलमा आगो लाग्दछ, सबै जनावरहरू जो स्वतन्त्र र निडर रुपमा घुम्ने सिंह, चितुवा, हात्ती र सबभन्दा छिटो चल्ने मृगहरू सबैभन्दा पहिले जल्नेछन् । तर, दुलोमा बस्ने मुसा सुरक्षित रहनेछ। आगो सकिएपछि उनीहरु बाहिर आउनेछन् र शान्तिमय जीवन बिताउने छन् ।
युधिष्ठिरको यो जवाफ सुनेपछि विदुर सन्तुष्ट भएर उनलाई सुरक्षित रुपमा रहन र चिरायुको कामना गरेर बिदा गरे भन्ने कथा पाइन्छ । यही नै ज्ञान कोरोना भाइरसबाट बच्नको लागि समेत उपयोगी रहेको देखिन्छ ।