Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

टोकियो – जापानमा सन् २०११ मार्च ११ का दिन आएको महाभूकम्प र त्यसपछिको सुनामीले ठूलो जनधनको क्षती पुर्‍याएको बुधबार दशौं वर्ष पुगेको छ । शुक्रबारको दिन थियो, स्थानीय समय अपरान्ह पौने ३ बजेतिर आएको ९ म्याग्नीच्युड स्केलको भूकम्पलाई जापानीहरु हिगासी निहोन दाइशिन्साइको नामले स्मरण गर्दछन् । तोहोकु क्षेत्रको ओशिका प्रायद्विपमा केन्द्रविन्दु रहेको सो भूकम्पको नजिकै विशाल समुद्र रहेकोले भूकम्पले भन्दा सुनामीका कारण ठूलो जनधनको क्षति भएको थियो । उक्त भूकम्प जापानको इतिहासमा सबैभन्दा शक्तिशाली र विनाशकारी भूकम्प मानिन्छ भने सन् १९०० देखि भूकम्पको आधुनिक मापन गर्न लागेयता विश्वकै चौथो शक्तिशाली भूकम्प मानिन्छ । भूकम्पका कारण आएको शक्तिशाली सुनामी पानीको सतहभन्दा ४० दशमलव ५ मीटर माथिसम्म आउँदा करीव ७ सय किलोमीटर प्रतिघण्टाको गतिमा उर्लेको सुनामीको छालले बढारेर उक्त क्षेत्रमा ब्यापक क्षति पुर्‍याएको थियो । सुनामीबाट इवाते, मियागी, सेन्दाई, फुकुसिमा क्षेत्रमा सबैभन्दा बढि क्षति पुर्‍याएको थियो । भूकम्प तथा सुनामीबाट जापानका २० वटा प्रिफेक्चरबाट १५ हजार ८ सय ७९ जनाको ज्यान गएको थियो भने २ हजार ५ सय २९ जना बेपत्ता भएका थिए र ६ हजार १ सय ५७ जना गम्भीर घाइते भएका थिए । ती घाइते मध्यका कतिपयले पछि ज्यान गुमाएका थिए ।

जापान राष्ट्रिय प्रहरी एजेन्सीका अनुसार भूकम्प र सुनामीबाट १ लाख २१ हजार ७ सय ७८ वटा घर भत्किएका थिए भने २८ हजार ९ सय २६ वटा घरहरु आधा भत्किएको र ६ लाख ९९ हजार १ सय ८० वटा घरहरुमा आंशिक क्षति पुगेको थियो । अझै पनि २ लाख २८ हजार ८ सय ६३ जापानीहरु अस्थायी शिविरमा बस्दै आएका छन् । यसका साथै ठूला ठूला राजमार्ग, सुरुङमार्ग, रेलमार्ग लगायतका भौतिक संरचनाको ठूलो क्षति हुनुका साथै पटक पटक आईरहेको पराकम्पनका कारण विभिन्न ठाउँमा सानाठूला पहिरो तथा आगलागीहरु समेत भएका थिए ।

भूकम्पले गर्दा फुकुसिमा स्थित आणविक भट्टीमा भएको क्षतिका कारण मानव स्वास्थ्यका लागि अति नै हानिकारक मानिने रेडियोधर्मी विकिरणले अर्को विकराल समस्याको रुप लिएको थियो । आणविक भट्टीमा भएको क्षतीका कारण दोस्रो विश्वयुद्धको ६५ वर्षपछि जापानका ४४ लाख घरपरिवार पहिलो पटक अध्याँरोमा बस्न बाध्य भएका थिए भने १५ लाख जनताहरु खानेपानीको सुविधाबाट वञ्चित भएका थिए ।

सो भट्टीको आसपासका क्षेत्रमा उत्पादित कृषिजन्य दैनिक उपभोग्य सागसब्जी, अन्न, फलफुल विकिरणयुक्त हुन सक्ने भन्दै सरकारले उपभोग नगर्न उर्दी जारी गर्नुका साथै उत्पादनका धनी कृषकहरुलाई सरकारले सोधभर्ना स्वरुप राहत उपलब्ध गराएको थियो ।

उक्त भूकम्प र सुनामीबाट करीव ३४ दशमलव ६ अर्व अमेरिकी डलर क्षती पुगेको बताईन्छ । तत्काल द बैंक अफ जापानले बैंकिङ सिष्टम मार्फत जापानको अर्थ बजारलाई सामान्यीकरण गर्न १ सय ८३ अरव अमेरिकी डलर प्रवाह गरेको थियो ।

विश्वबैंकले जापानमा आएको सन् २०११ को महाभूकम्प र सुनामीबाट भएको क्षति र त्यसपछि अर्थतन्त्रमा परेको असरले करीव २ सय ३५ अर्व अमेरिकी डलर बराबरको क्षति पुर्‍याएको बताएको छ । बिश्वबैंकले यसलाई विश्वकै इतिहासमा प्राकृतिक प्रकोपबाट भएको ठूलो क्षति मध्यको एक भनेको छ ।

त्यतिबेला जापानमा रहेका नेपालीहरुलाई जोखिममुक्त बनाउन यहाँका तत्कालिन सक्रिय संघसंस्थाहरुले खेलेको भूमिका उदाहरणीय छ । तत्कालिन एनआरएन जापानको संयोजनमा सबै संघसंस्थाहरुको ऐक्यबद्धता, सक्रियता र एकता जापानको नेपाली समुदायको इतिहासमा सुनौला अक्षरले कोर्न लायक छ । मियागी, सेन्दाइ, इवाते, फुकुसिमा लगायतका अति प्रभावित क्षेत्रका नेपालीहरुलाई उद्वार गर्न टोकियोबाट दैनिकजसो टोलीका टोली प्रस्थान गरी टोकियो ल्याएर शिविरहरुमा राख्ने, नेपाल फर्कन चाहनेलाई नेपाल फर्कने ब्यवस्था गर्ने, कलेज, विश्वविद्यालयको अध्ययन सुचारु गर्न चाहनेलाई यतै सुरक्षित ब्यवस्थापन गर्ने जस्ता कार्यहरु भएका थिए । जापानी सञ्चार माध्यममा पहुँच नहुने सर्बसाधारणहरुका लागि मिडियाकर्मीहरुको सक्रियता र विज्ञहरुको सहयोगमा २४ सै घण्टा सूचना प्रवाह गर्न हटलाइन सेवाको व्यवस्थाले प्रभावकारी भूमिका खेलेको थियो । किन कि आणविक भट्टीबाट निस्कने रेडियोधर्मी विकिरणको अवस्था दिनदिनै जानकारी हुनु हरेकका लागि अति आवश्यक थियो । यस्तो महाप्रलयकारी समस्याबाट बच्न भारत, कोरिया, चीन, थाइ, भियतनाम, श्रीलंका लगायतका विदेशीहरु उल्लेख्य मात्रामा आफ्नो देश फर्केका थिए तर नेपालीहरु भने खासै स्वदेश फर्केनन् । यसको मुख्य कारण भनेको नेपाली समुदायले खेलेको त्यतिबेलाको प्रभावकारी भूमिका नै हो । तर विडम्बना त्यतिबेला टोकियोस्थित नेपाली राजदूतावास भने भागेर ओसाका पुगेको तीतो सत्य यहाँका नेपालीहरुले अझै बिर्सेका छैनन् । समग्रमा, प्राकृतिक प्रकोप पूर्वसूचना दिएर नआउने हुँदा त्यसको पूर्वतैयारी, प्रकोप पछिको तात्कालिक ब्यवस्थापन, राहत तथा उद्वार कार्य, क्षतिग्रस्त क्षेत्रको पुनर्स्थापनमा जापानले देखाएको उदाहरण अनुकरणीय छन् ।***

तपाईको प्रतिक्रिया