कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी प्रभावका कारण अहिले जताततै विगविगी बढ्दो छ । सबैजसो देशका पर्यटन क्षेत्रमा यसको सिधा असर परेको छ भने यातायात, उद्योगधन्दा, कलकारखाना, शैक्षिक संस्थान लगायतका अन्य क्षेत्रमा समेत यसको असर देखिन थालेका छन् । एकदेशबाट अर्कोदेशको आवागमनमा धमाधम रोक लगाईदैं छ । महामारी फैलिएको एकाध महिनामै रोजगारीका क्षेत्रहरुमा अन्यौलता सिर्जना भएका छन् । सञ्चारमाध्यमहरुमा आएका तथ्य र तथ्याङ्क भन्दा भित्रभित्रै परिस्थिति अझ विकरालतर्फ उन्मुख देखिन्छ ।
कोरोनाको उदगमथलो छिमेकी मुलुक चीनसंगै जोडिएको हाम्रो देश नेपाल र कोरोनाको अति प्रभावित देश मध्यको जापान दूवै देशमा रहेका नेपालीहरुमा अहिले उत्तिकै चिन्ता र सन्त्रास फैलदों छ । तथापि नेपाल र नेपालीहरुले भने यसलाई त्यति धेरै गम्भीरतापूर्वक लिएको पाइँदैन ।
जापानको सन्दर्भमा राज्य र सरकारको ध्यान कोरोनाको महामारीबाट आफ्ना जनतालाई कसरी सुरक्षित राख्न सकिन्छ भन्नेमा पुरा केन्द्रीत गरेको देखिन्छ । अर्थतन्त्रमा आउन सक्ने संभावित मन्दीबाट जोगाउन जापान सरकारले साना तथा मझौला व्यवसायहरुलाई लक्षित गरी ४ अरव अमेरिकन डलर खर्च गर्ने योजना ल्याएको छ । तथापि जापानमा पनि अनपेक्षित ढंगले संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै जानुले थप चिन्ताको बिषय बनेको छ । राज्यमा संकटकाल लगाउनेसम्मको बहसले प्रवेश पाउनुले सुनिएको र भनिएको भन्दा स्थिति फरक हुन सक्ने आंकलन सहजै गर्न सकिन्छ ।
यस्तो महामारीको समयमा जापानको नेपाली समुदायले जोखिम न्यूनिकरणका लागि जुन खालको सचेतनामुलक कार्यक्रम, पूर्व तैयारी तथा शिघ्रताशिघ्र अपनाउनुपर्ने संभावित कदमहरुका बारेमा छलफल, बहस र डेलिभरी दिन सक्नुपर्दथ्यो, त्यो हुन सकेको छैन । राजदूतावास, एनआरएन लगायत सयौंका संख्याका संघसंस्था जापानमा भएता पनि यस्तो संवेदनशील स्थितिमा मौनता साँध्नुले सकारात्मक सन्देश प्रवाह गर्दैन । यस्तो बेलामा उनीहरुको भूमिका शून्य हुनुहुँदैन । बिषयका ज्ञाता, सम्बन्धित निकाय तथा जानकारी लिन सकिने सूचना केन्द्रसम्म सर्बसाधारण नेपालीको पहुँच नहुन सक्छ, त्यसो हुँदा दैनिकजसो जानकारी लिन र दिन सकिने हटलाइन सेवा मात्र भए पनि धेरैका लागि राहत हुनेमा दुईमत छैन । सन् २०११ को महाभूकम्पका बेला विज्ञहरुसहितको मिडिया ग्रुपले २४ घण्टे अनलाइन सेवा प्रवाह गरेको र जुन ज्यादै प्रभावकारी बन्न पुगेको यहाँ स्मरणीय छ । धेरै हुनुमा रमाउने बानी परेका हामीलाई थोरै भएपनि कामकाजी हुनुको महत्व यतिखेर अझ साबित हुँदै गएको महशुस गरिदैं छ ।
उता कोरोना भाइरसकै कारण भिजिट नेपाल २०२० नराम्रोसंग प्रभावित मात्र होइन रद्द नै हुन पुगेको छ । ठीक यसैबेला पटक-पटक आलाकाँचा निर्णय र कार्यसम्पादनका कारण जापानीमाझ बिश्वसनियतामा प्रश्नचीन्ह लागेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको काठमाडौं-नारिता सीधा उडानलाई पहिलो गासमै ढुंगा साबित भएको छ । धैर्यता र मनोबलका साथ निगमले यतिबेला आफ्नो सेवाको निरन्तरतालाई कायम राख्नुको विकल्प छैन । यसमा राज्य र नागरिक तहबाट पनि सक्दो सहयोग र सहकार्य वाञ्छनीय छ ।
विश्वब्यापीरुपमा कोरोना महामारीले गाँजेको वर्तमान अवस्थामा राज्यले आफ्ना नागरिकप्रति पूरा गर्नुपर्ने दायित्व बारे जापानबाट पनि सिक्न जरुरी छ । खाली भीडभाडमा जानु हुँदैन, घरबाहिर निस्किँदा मास्क लगाउनुपर्छ, पटक-पटक साबुन-पानीले हात धुने गर्नुपर्छ । हात मिलाउने, अंकमाल गर्नेजस्ता अभिवादन शैली हटाउनुपर्छ । नमस्कार हाम्रो संस्कार हो, त्यसमै जोड दिनुपर्छ । कोरोनाका लक्षण महशुस भए तत्काल स्वास्थ्य संस्थामा गई रोग निवारण गर्नुपर्छ, यति भनेर मात्र पुग्दैन । यो त अब दूधे बालकलाई पनि थाहा भएको कुरो भईसक्यो, त्यो भन्दा माथि उठेर तत्काल एक्शनमा उत्रदैं राज्यले राहतका प्याकेज, सहुलियत स्किम, त्राणमा प्राण दिने खालका विशेष कार्यक्रम ल्याईनुपर्दछ । विदेशस्थित कूटनीतिक नियोगलाई थप सक्रिय बनाई त्यहाँका नेपालीहरुको अवस्था, संभावित जोखिमबाट जोगाउन तत्काल चालिनुपर्ने कदम बारे अधिकतम परिचालन गर्नुपर्दछ । राज्यले यस्तै बेलामा नागरिकलाई आफ्नो उपस्थितिको महशुस दिलाउने हो, अन्य सामान्य अवस्थामा त नागरिक आफ्नो लागि आफै ब्यवस्था गर्न सक्षम छन् । ***