Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

विश्वभरि छरिएर रहेका प्रवासी नेपालीहरुको प्रतिनिधिमुलक संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राजनैतिक घुसपैठ निषेध गर्ने पहलस्वरुप थालिएको बहसलाई फेरि पेचिलो बनाईएको छ । कुमार पन्त नेतृत्वको हालको एनआरएनले यो लगायत केही सुधारात्मक पहल थालेको भए पनि दशकौं पुरानो रोगको निदान त्यति सजिलै होला भन्नेमा आशंका भने जिवितै छ । संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले सुरुवाती दिनदेखि नै एनआरएन र राजनीतिलाई अलग गरिनुपर्नेमा निरन्तर जोड दिदैं आएको भएता पनि हरेक दुई वर्षमा तामझामसहित तारे होटलमा हुने ग्लोबल सम्मेलनमा राजनैतिक दलका प्रभावशाली नेताहरुको खुलायम चलखेल र एनआरएनकर्मीहरु पनि आ-आफ्नो स्वार्थअनुकुल नेताहरुको ढोका चाहार्ने सँस्कार पछिल्ला दिनहरुमा अझ सतहमै देखिने गरी बिकास हुँदै गएको देखिन्छ । सोही कारण गत सम्मेलनमा डा. महतोले सम्मेलननै बहिष्कार गरेका थिए ।
स्वयम एनआरएनकर्मीहरुकै कारण एनआरएनभित्र राजनीति र राजनीतिभित्र एनआरएनले स्पेश पाउने अवस्थाको सिर्जना भएको कसैबाट छिपेको छैन । जब-जब महाधिवेशन नजिक आउँछ आ-आफ्नो प्यानलनै खडा गरी निकटको नेताहरुको आशिर्वादसहित निर्वाचनमा होमिने र पैसाको खोलो बगाउने प्रवृत्तिले एनआरएनको छबि धुमिल हुँदै गएको सन्दर्भमा एनआरएनभित्र सुधार गर्ने प्रयासको फेरि थालनी भएको हो । यो पहल र प्रयास आफैमा स्वागतयोग्य भए पनि कार्यान्वयनको पाटो भने त्यति सहज देखिदैंन । पछिल्लो सर्कुलर अनुसार राजनैतिक पार्टी निकट संघसंस्था, साम्प्रदायिक तथा धार्मिक संगठनको कार्यकारी पदधारण गरेका ब्यक्ति एनआरएनको कार्यकारी जिम्मेवारीमा भएमा अन्यत्र राजीनामा दिनुपर्ने प्रावधान राखिएको छ । कार्यकारी भन्नाले पदाधिकारी भन्ने बुझ्ने हो भने त्यो बाहेकका पदासिनहरुका लागि यो प्रावधानले छुने देखिदैंन । त्यसो हुँदा उनीहरुबाट हुने राजनैतिक सक्रियताले संस्थामा पार्ने प्रभाव भने यथावत रहनेमा कुनै शंका छैन । माथिल्लो ओहदावाललाई मात्र लागू हुने तर मातहतलाई खुल्ला राखेर एनआरएनलाई राजनीतिबाट अलग गर्ने शुद्धिकरण अभियान के कति सफल होला त्यो भने यसै भन्न सकिदैन ।

एनआरएनलाई साँच्चिकै विशुद्ध सामाजिक संस्था बनाउने हो भने राजनीतिमा लागेका ब्यक्तिहरुलाई राजनीतिकर्ममै रमाउन दिएर सामाजिक ब्यक्तिहरुको पहिचान गरिनुपर्दछ । एनआरएन पंत्तिबाटै राजनीति क्षेत्रमा परिचय बनाएका ब्यक्तिहरुलाई खोजी खोजी जिम्मेवारीमा तान्ने अनि विशुद्धिकरणको अभियान चलाउने हो भने त्यसको  कुनै तुक छैन ।

नेपाली समाजमा अझ प्रवासमा ’ब्यक्ति एक भूमिका अनेक’ पनि अर्को एउटा समस्याकोरुपमा किलोजरो गाड्दै गईरहेको छ । नेपालीहरुमा पदलोलुपताको भोक यति चर्को देखिन्छ कि, एउटै अनुहार पार्टीमा पनि, साहित्यमा पनि, पत्रकारमा पनि, जिल्लाको नेता पनि, जातिय संस्थामा पनि र एनआरएनमा पनि भएपछि पब्लिकले उसलाई कसरी चिन्ने ? हामीकहाँ समस्या यहिँनेर छ । जसका कारण पनि धेरै संघसंस्थाहरुको हालत घिस्रिदो र ताक्सिएको अवस्थामा देखिन्छन् । जिम्मेवारीको भारी धेरै ठाउँमा बोकेपछि सोहीअनुसारको भूमिका प्रभावकारी हुने कुरै भएन । पद धेरै ठाउँमा चाहिने काम भने गर्न नपर्ने सँस्कारलाई नेपाली समाजले नजानिदों हिसाबले हुकाईरहेको छ । विभिन्न देशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने एनआरएनका कतिपय ओहदावालहरु मञ्चमा बसेको बाहेक अरु काम गरेको खासै देख्न सुन्न पाईदैन । हरेकलाई ड्यूटी दिन सकिदैन भने त्यो पदको औचित्य के ? यसकारण पनि नेपालीहरुमा पदलोलुपताको भोक बढ्दो छ भनेर विश्लेषण गर्न सकिन्छ ।

कुनै एउटा जिम्मेवारीमा कार्यकाल पुरा गरेपछि अर्कोमा संलग्न हुनु स्वभाविकै हो । एक ठाउँमा बहाल छँदै त्यो बाहेक दुई वा दुईभन्दा बढि ठाउँमा नेतृत्व तहको जिम्मेवारी लिन खोज्नु सरासर पदलोलुपता नै हो । यस्तो मानसिकताबाट नेपालीहरु माथि उठ्न जरुरी छ । सवाल हामी कस्तो समाज निर्माण गर्दैछौं भन्नेसंग जोडिएको छ । धेरैलाई नपचे पनि कामकाजी मानिस भन्दा समाजमा टुपुरटुँइयाँहरुकै बोलबाला छ । उनीहरुबाटै घेरिएपछि एकाध राम्रा मान्छेहरु पनि आफ्नो क्षमता प्रदर्शन गर्न नसक्ने गरी निरीह बन्न पुग्छन् । प्रवासका नेपाली समुदायमा विद्यमान यस्ता परिवेशको प्रतिविम्व एनआरएनमा पनि देखिनु स्वभाविकै हो । तथापि ढिलै भएपनि पहलकदमी सकारात्मक छ ।***

तपाईको प्रतिक्रिया