सामाजिक सञ्जाल फेसबुकको दुनियाँ विचित्रको छ । यो दुनियाँमा विचरण गरेर दैनिक समय बिताउनेहरुमा नेपाली समाज अग्रपंक्तिमै हुनुपर्छ । एकजना ब्यक्तिले दैनिक औसत कतिघण्टा फेसबुकमा समय ब्यतित गर्छ भन्ने अध्ययनकै बिषय होला । तथापि बिहान उठेदेखि सुत्नेबेला सम्म फेसबुकको दुनियाँमा समय बिताउनेहरुको जमात निकै ठूलो छ र यो बढ्दो क्रममा पाईन्छ । खोजेको मित्र भेटाउनेदेखि अध्ययन, अनुसन्धान, सूचनामुलक जानकारी हासिल गर्ने र आफ्ना नितान्त ब्यक्तिगत अभिब्यक्ति संप्रेषण गर्न यो दुनियाँ प्रभावकारी मात्र छैन रमाईलो पनि छ । तर नजानिदों हिसाबले मानिसहरु आफ्नो महत्वपूर्ण समय दैनिकरुपमा अनुत्पादनशील क्षेत्रमा खेर गइरहेको पत्तो पाईरहेका हुँदैनन् ।
हजारौंको संख्यामा रहेका आफ्नो नेटवर्कमा हरेक दिन पर्ने कुनै न कुनै ब्यक्तिको जन्मदिन, बिबाह, पास्नी, एनिभर्सरी, बेबी सावर, नवजात शिशुको जन्म, मृत्यू लगायतका अनेकौं सामाजिक सँस्कारजन्य अवसर परिरहेकै हुन्छन् । ती अवसरहरुमा औपचारिकता निभाउनका लागि मात्रै भएपनि दैनिक बधाई, शुभकामना, श्रद्धाञ्जली, समवेदना लेख्नैपर्यो । अरुले लेखेको देखे रियाक्ट गर्नैपर्यो । त्यसकारण पनि फेसबुक अहिले धेरैको लत बनेको छ । हात हातमा बोकेका स्मार्टफोनबाट मानिसहरु अहिले ५ मिनेट टाढिन नसक्ने भएका छन् । साथीभाइ, इष्टमित्र, आफन्तजनलाई आफ्नो घर तथा कोठामा सत्कार गर्नुपरेमा सबैभन्दा पहिले वाइफाइको पासवर्ड टक्र्याउनु उनीहरुको लागि खुशीको बिषय भएको छ ।
यसैबीच नाम उल्लेख गर्न नचाहने काठमाडौंमा दुईदशकदेखि जापानी भाषा स्कुल चलाउँदै आएका एक मित्र भन्छन् – हिसाब गर्ने हो भने विगत १५ वर्षमा मैले ५ वर्षजति फेसबुकमा बिताएँहुँला, त्यो समयमा मैले पुस्तक लेखेको भए २, ४ थान पुस्तक निस्कन्थे । अध्ययन नै गरेको भए पनि थप एकेडेमिक डिग्री हासिल गर्ने थिएँ । त्यो समय आफ्नो ब्यवसाय बिस्तारमा ध्यान दिएको भए आजको भन्दा धेरै राम्रो हुने थियो । जीवनकै महत्वपूर्ण एवं ऊर्जाशील समयको ५ वर्ष भनेको धेरै लामो समय हो । त्यतिबेला मेरो काम भनेको हरेक दिन बिना अर्थका मनगढन्ते स्टाटस लेख्ने, आफुले लेखेको स्टाटसमा क-कसले लाइक या कमेन्ट गरे भनेर गनेर बस्ने, कमेन्ट गर्नेलाई धन्यबाद दिने, शुभकामना, बधाइ, श्रद्धाञ्जली, समवेदना ब्यक्त गर्ने, अरुको स्टाटसमा लाइक, कमेन्ट गर्ने गर्दैमा दैनिक ३, ४ घण्टा बितेको पत्तै हुँदैनथ्यो । साँझ सुत्नेबेला आज मैले के के काम गरें भनेर घोत्लिंदा खास केही गरेको पाउँदैनथिएँ । चिनेजानेको साथीको स्टाटस देखेपछि लाइक, कमेन्ट गर्नैपर्यो, अरु कसैको केही देखे आफ्नो प्रतिक्रिया जनाउनै पर्यो ।
त्यसपछि मैले एउटा निर्णयमा पुगे – अब यसरी हुँदैन, यो समय अरु सिर्जनात्मक तथा रचनात्मक काममा सदुपयोग गर्नु उपयुक्त हुन्छ भन्ने लागेर अहिले म फेसबुकको दुनियाँबाट टाढै बसेको छु । हेर्दै नहेरेपछि हाइसञ्चो, त्यो समयमा अहिले म पत्रपत्रिका तथा पुस्तक पढ्ने, परिवारसंग घुम्न जाने, ब्यायाम तथा योगा गर्ने र फरक फरक एवं नयाँ बिषयमा सोच्ने र घोत्लिने गरेको छु । यसो गर्दा मलाई आत्मसन्तुष्टि पनि मिलेको छ र केही देखिने गरी परिणाम पनि हासिल भएको छ । फेसबुकको लत लागेपछि मान्छेलाई कतिसम्म क्रेजी बनाउँछ भन्ने कुरो एउटै बेडमा सुतेका श्रीमान श्रीमतीको संवाद बोलीचाली, हार्दिकताबाट हैन, म्यासेन्जर मार्फत गर्नेहरुको संख्या दिनहुँ बढ्दो छ । खाना खाँदा होस् या शौचालय जाँदा, कार्यालयमा काम गरिरहेकै अवस्थामा होस् या शरीरलाई आराम दिने समयमा होस् या बच्चाको हेरचाहको बेलामा होस मानिसहरुलाई फेसबुकको वालमा विचरण गरिरहने बानी भईसकेको छ । यो लतले तपाईलाई के दियो ? एकचोटी छातीमा हात राखेर सोच्ने हो भने खर्चिएको समयको अनुपातमा खासै उपलब्धि भएको पाईँदैन ।
औसत मानिसहरुको समय दिनहुँ यसरी नै बित्ने गरेको छ । जुन समय फेरि फर्केर कहिलै आउँदैन । मानिसलाई यान्त्रिक दुनियाँमा भुलाउने फेसबुकको लिला पुरापुर बेकार छ भन्ने मेरो आशय त होइन तर दैनिकरुपमा आफ्नो महत्वपूर्ण समयमा आफुले नगरी नहुने काम गर्नै छोडेर रातदिन यसैमा झुण्डिएर समय बिताउनु भनेको अनुत्पादनशील नै हो । त्यसैले अचेल म फेसबुक चलाउँदिन । बरु साथीहरुसंगको सम्पर्कमा सहजताका लागि लाइन र ट्वीटर प्रयोग गर्ने गरेको छु ।
विगत डेढदशकदेखि जापानमै बस्दै आएका एक रेष्टुरेन्ट ब्यवसायी भन्छन् – काम गर्ने स्टाफहरु जतिखेर पनि फेसबुकमै झुण्डिछन्, कति सम्झाउनू, दिलचस्पी लगाएर कामै गर्दैनन्, फेसबुक चलाएर जागीर खाने कस्तो दिन आयो ? यदि उनीहरु जापानी कम्पनीमा हुँदा हुन् त त्यो छुट कहाँ पाउँथे ? कामको समयमा अन्यत्र ध्यान दिंदा स्वयमलाई पनि घाटा, कम्पनीलाई पनि घाटा हुने नै भयो । यसैले होला कतिपय जापानी कम्पनीहरुमा सामाजिक सञ्जाल चलाउन बन्देज गरिएको हुन्छ । तर हामी नेपाली सुध्रिने कहिले ? उनी प्रश्न गर्छन् ।
अर्कोतिर फेसबुकको दुनियाँमा सकारात्मक भन्दा नकारात्मक सन्देश बढि हावी हुने गरेको तथ्य सबैको सामु प्रष्ट छ, त्यसले समाजमा नकारात्मक धारणा उत्पादन गर्न मदत गर्छ । जसले गर्दा तथ्यमा भन्दा खल्लीबल्ली, हल्लाखोर र भीडमा बिश्वास गर्ने जमात निर्माण गर्नमा टेवा पुराउने गरेको जानकारहरु बताउंछन । (विम्वकोरुपमा तस्विर साभार फेसबुक संसारबाट ) ***