टोकियो – जापानको टोकियोमा आयोजना गर्न लागिएको ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित नभएको दावी गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण थप फैलिनसक्ने भएकाले प्रतिगोगिता स्थगित भएको हल्ला गलत भएको आयोजकहरुले बताएका छन् ।
उनीहरुले भनेका छन्, ‘कोरोना भाइरसको सङ्क्रमणको खतरा देखाएर यो ओलम्पिक प्रतियोगिता न त स्थगित हुन्छ, नत पछाडि सर्छ, यो पूर्वनिर्धारित समयमै हुन्छ ।’ ओलम्पिक प्रतियोगिताको आयोजक समितिका अध्यक्ष योशिरो मोरीले पत्रकारहरुसँग बिहीबार भने, ‘म यो स्पष्ट पार्न चाहन्छु कि टोकियो ओलम्पिक प्रतियोगिता स्थगित गर्ने वा पछाडि सार्नेगरी केही काम हुनेछैन ।’
जापानका पूर्वप्रधानमन्त्री समेत रहेका मोरीले प्रतियोगिताको तयारीका बारेमा छलफल गर्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँगको दुई दिने बैठक सुरु भएको पनि जानकारी दिए । आयोजक समितिका अध्यक्ष मोरीले सरकार र सरोकारवाला पक्षहरुसँग आफुहरुले काम गरिरहेको पत्रकारहरुलाई बताए ।
आइओसी समन्वय आयोगका अध्यक्ष जोन कोस्टले पनि कोरोना भाइरसको सङ्क्रमणको समस्या ‘अनपेक्षित विषय’ भएको बताउँदै यो तत्काल समाधान हुने विश्वास व्यक्त गरे । कोरोनासम्वन्धी समस्या समाधान गर्ने जिम्मेवारी सरकार र अन्य सरोकारावालाहरुको भएकाले त्यसमा ओलम्पिक आयोजकले चिन्ता लिनु नपर्ने उनको भनाई छ ।