काठमाडौँ – आइसीसी क्रिकेट वर्ल्ड कप लिग टु अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले १ सय ९८ रनको लक्ष्य पाएको छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदानमा बुधबार बिहान सुरु भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा १९७ रनको योगफल तयार पारेको हो ।
ओमानका लागि मोहम्मद नदीमले अद्र्धशतकीय पारी खेलेका थिए । उनले ६९ रन बनाए । त्यस अतिरिक्त सन्दीप गौडले ३३, मुहम्मद नसिमले २८, जसिम मकसुदले २० र अकिब इल्यासले १६ रन बनाए । बलिङतर्फ नेपालका सुशन भारी किफायती साबित भए । उनले १० ओभरमा १४ रनमात्र खर्चिएर तीन विकेट लिए ।
‘विकेट टेकर’का रुपमा करण केसी प्रभावशाली रहे । उनले चार विकेट हात पारे । दीपेन्द्रसिंह ऐरीले एक विकेट हात पारे । १० ओभर बलिङ गरेका सन्दीप लामिछाने भने विकेटविहीन रहे । उनले ४५ रन खर्चिए ।