काठमाडौं – पोर्चुगिज स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्ट्सका लागि ५० गोल पुरा गरेका छन् । आइतबार राति भएको खेलमा फियोरेन्टिनाविरुद्ध दुई गोल गर्दै रोनाल्डोले युभेन्ट्सको जर्सीमा ५० गोल पुरा गरेका हुन् ।
इटालीमा ५० गोल पुरा गरेपछि रोनाल्डोले यो उपलब्धी हासिल गर्न पाउँदा खुसी भएको बताएका छन् । ‘हामीले पुनः जित निकालेका छौं। एलिनाज स्टेडियममा गोल गर्दा खुसी छु,’ रोनाल्डोले भने, ‘बिआनकोनेरी जर्सीमा ५० गोलको लक्ष्य पार गर्दा आफैँमा गर्व महसुस भएको छ ।’
रोनाल्डोले फियोरेन्टिनाविरुद्ध ४० औं र ८० औं मिनेटमा गोल गर्दै ५० गोल पुरा गरेका थिए । दुवै गोल उनले पेनाल्टीमा गरेका थिए । रोनाल्डोले अहिले उत्कृष्ट फर्ममा छन् । र, रोनाल्डोले सन् २०२० मा मात्र इटानलियन क्लब युभेन्ट्सका लागि ५ खेलमा ११ गोल गर्दै आफू फर्ममा आएको संकेत गरेका छन् । यो सिजन उनले सबै प्रतियोगितामा गरी २२ गोल गरेका छन् भने सिरी एमा १९ गोल गरेका छन् ।
सन् २०१८ मा स्पेनिस जाइन्ट रियल मड्रिडबाट युभेन्ट्स आएका रोनाल्डोले फियोरेन्टिनाविरुद्ध गोल गर्दै १५ वर्ष पुरानो रकर्ड बराबरी गरेका छन् । इटलियन सिरी एमा लगातार ९ खेलमा गोल गर्दै रोनाल्डोले १५ वर्ष पुरानो डेविड ट्रेजेगुएटको कीर्तिमान बराबरी गरेका हुन् । ट्रेजेगुएटले सन् २००५ मा युभेन्ट्सका लागि लगातार ९ खेलमा गोल गरेका थिए ।