Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

रोजगार, व्यवसाय, अध्ययन, अनुसन्धान लगायतको सिलसिलामा जापान आउने नेपालीहरुको चाप बढेसंगै बिभिन्न सामाजिक संघसंस्था तथा राजनैतिक दलहरुको भ्रातृ संगठन तथा जातिय संघसंस्थाहरु खोल्ने क्रम बढेको छ । जापानमा करिब ९० हजारको हाराहारीमा नेपालीहरु रहेको पछिल्लो तथ्यांकले देखाएको छ । नेपालीहरुको चाप बढेसंगै संख्यात्मक रुपमा संघसंस्थाहरु बृद्धि हुनुलाई स्वभाविक नै मान्न सकिन्छ । दर्जनौ ति संघसंस्थाहरु मध्य केही संघसंस्थाहरुले जापानमा रहेका नेपालीहरुको आपत बिपदमा सहयोग अनि हकहितका लागि धेरै राम्राराम्रा कामहरु गर्दै आइरहेका छन् । उनीहरुले नेपालको शिक्षा, स्वास्थ्य, बिद्युत लगायतका विभिन्न क्षेत्रमा विशेष सहयोग गर्ने गरेको पाईन्छ ।

तर जापानमा रहेका अधिकांश नेपाली संघसंस्थाहरुको अवस्था भने दयनीय नै देखिन्छ । संस्था गठन हुँदाको बखत हजारौको संख्यामा भेला हुने अनि पदका लागि तँछाड मछाड गर्ने गरेको पाईन्छ तर गठनपछिको नियमित बैठकहरुमा उपस्थिति एकतिहाई पुर्‍याउन पनि हम्मेहम्मे परेको देखिन्छ । धेरैजसो संस्थाहरुमा कमजोर नेतृत्व, अध्ययनशिलता एवं अनुभवको कमी, संस्था सुदृढिकरणको रुझान नहुनु, गोजीको पैसाकै आडमा मात्र संस्था चलाउन सकिन्छ भन्ने कमजोर मानसिकता, संस्थामा सामाजिक काम गर्ने बहानामा पैसा कमाउने भाँडो बनाउन खोज्नु, बिभिन्न सहयोग तथा अभियानहरुमा जुटाएको पैसा समयमा लक्षित ठाउँ तथा पीडितमाझ पुर्‍याउन नसक्नु जस्ता कारणहरुले गर्दा जापानमा रहेका अधिकांश नेपाली संस्थाहरु गुणस्तरिय बन्न सकिरहेका छैनन् । अर्को कुरा जापानमा नेपालीहरु टाढा टाढा छरिएर रहेका छन् । धेरैजसो संस्थाहरु टोकियोको शिनओकुवोमा केन्द्रित देखिन्छन् । शिनओकुवो आउन जान अन्य ठाउँमा रहेका नेपालीहरुलाई धेरै खर्चिलो पर्न जान्छ । अन्य ठाउँका नेपालीहरु यसरी भौगोलिकरुपमा टाढा रहेकोले चाहेर पनि संस्थामा सक्रिय हुन सकिरहेका छैनन् । संस्थाहरुले सबै ठाउँका नेपालीहरुलाई समेटेर अघि बढ्न नयाँ मेकानिज्म बनाउन अति नै आवश्यक देखिन्छ । यहाँ संस्थाहरु सयौं भएपनि धेरै नेपालीहरु संस्था भन्दा बाहिर नै छन । संस्थालाई न्वारान गर्ने, बर्षभरिमा १ चोटी बार्बेक्यु गर्ने, नेपालबाट कलाकारहरु ल्याएर बिभिन्न इभेन्टहरु गर्ने शिवाय केही उपलब्धि गर्न सकिरहेको देखिदैन । ति कार्यक्रमहरु सफल पार्न चर्को टिकट शुल्क असुन्छन, स्पोन्सरबाट त्यसरी नै उठाउँछन् । त्यसबाट के कति संलकन भयो, कार्यक्रमबाट के कति आम्दानी वा खर्च भयो, अत्तोपत्तो हुँदैन । संस्था भित्रको आर्थिक पारदर्शिता संचारमाध्यम मार्फत किन देखाउन खोज्दैनन ? सहजै अनुमान गर्न सकिन्छ, पक्कै पनि कमाउने उद्देश्यले कार्यक्रम गर्न खोजेको हो भनेर ।

धेरैजसो संस्थाहरुको बैठक रेष्टुरेन्टहरुमा हुने गर्दछ । १० बजे बैठकको समय निर्धारण गरे पनि १२ बजेतिर हल्लिदै हल्लिदै बैठकमा उपस्थित हुन्छन् । २, ४ जना भेला हुन्छन् । माइन्युट गर्ने परम्परा बिर्सिसकेका छन् । सामाजिक सञ्जाल फेसबुकबाटै बैठक बोलाउँछन । फेसबुकमै बैठकको लाइभ गर्छन । भएका निर्णयहरु आफु निकट अनलाइन पोर्टलहरु मार्फत राखेर प्रचारप्रसार गर्छन । अन्तमा, फोटो सेशन गरेपछि दोहोरी जाने, खराउके वा डान्स बार गएर बियर पिउँदै लाइभ हाल्छन् । संस्थागत विधिबिधान, पद्धती र बैठकको मर्यादालाई कहाँसम्म पालना गर्ने भन्ने कुराको हेक्का राखेको पाईदैन । बैठक सही ठाउँमा हुने गरेको छ कि छैन ? समयमा बैठक नआउने, ढिला आउनेहरुलाई दण्ड सजायँको व्यवस्था छ कि छैन ? अघिल्लो बैठकले गरेको निर्णय अनुसार के कति उपलब्धि हासिल गर्न सफल भयो ? भोलिको प्रष्ट कार्ययोजना के ? यी कुराहरु सबै नेपालीहरु माझ जानकारी गराउन सकिरहेका छैनन् ।

राजनैतिक दलका भ्रात्तृ संगठनहरुले विशेषगरी अन्तरक्रिया तथा प्रशिक्षणका लागि आफ्नो पार्टीका केन्द्रीय नेताहरु बोलाउने गरेको पाईन्छ । नेपालबाट नेताहरु बोलायो, जापानको २, ४ वटा रमाईला ठाउँहरु घुमायो, यताको यसो कोसेली उपहार हातमा थम्यायो, मख्ख पार्‍यो सकियो । रमाइलोका लागि होइन नेताहरुलाइ यहाँको सरसफाई, सबैको पुहँचमा पुगेको शौचालय सुबिधा, यातायातका माध्यम रेलसेवा बारे बुझ्न लगाउनुहोस । खानेपानीको मुहान, फोहोरमैला कसरी व्यवस्थापन गर्छन् ती ठाउँहरु अनि यहाँको कृषि तथा पशुपालन प्रविधि अध्ययनका लागि यामानासी, आओमोरी, होक्काइदोका ठाउँहरु देखाउनुहोस । अनि नेपालमा पनि जापानको सिस्टम र प्रविधि लागु गराउन पहल गर्न सके नेताको भ्रमण उपलब्धिमुलक भएको मानिन्छ ।

जापानमा जनजाति संघसंस्थाहरु पनि धेरै छन् । उनीहरुको हालत पनि फरक छैन । बर्ष दिनमा एक पटक अधिवेशन र ल्होसार मात्रै गरेर कार्यकाल बिताउने गरेका जनजाति संस्थाहरुले केही सिर्जनशिल र रचनात्मक कार्यक्रमहरु गर्न नसके संस्था छ भन्ने मात्रमा सीमित हुने छ । बाँकी दिनहरुमा आफ्नो कार्यक्रम भन्दा पनि अरु संस्थाहरुले आयोजना गर्ने कार्यक्रमहरुमा उपस्थिति जनाउन नै भ्याईनभ्याई हुन्छ । यसलाई गलत भन्न मिल्दैन तर जातिय संस्था किन र के का लागि स्थापना भएको हो नेतृत्व गरिरहेका संस्थाका प्रमुखहरुले आफैले मनन गर्नुपर्ने देखिन्छ । ल्होसार, साकेला, रोधीहरुमा झुम्नुपर्ने जनजाति युवाहरु आफ्नो सँस्कृतिभन्दा पनि अरु चाडहरुमा रमाउने गरेको पाइन्छ । समग्रमा भन्नुपर्दा जापानमा नेपाली समाज काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर झैं भएको छ । सबै संस्थाहरुले संस्थाभित्रको कमीकमजोरी सुधार्न आवश्यक छ । बर्षभरिमा लक्षित उद्देश्यहरु के के छन ? ति उद्देश्य प्राप्त गर्न के कस्ता कामहरु गर्ने भनेर बार्षिक कार्यतालिका सार्वजनिक गराई सबैको अपनत्व सहितको संस्था बनाउन सके उत्तम हुनेछ । ***

(लेखक शर्पा समायोजन खबर डट कमका सम्पादक हुन्)

तपाईको प्रतिक्रिया