Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडा हवाई जहाज तथा हेलिकप्टरको पाटपुर्जामा लगाउँदै आएको मुल्य अभिवृद्धि कर (भ्याट) हटाएका छन् । एयरलाइन्स कम्पनीहरुकै माग अनुसार अर्थमन्त्री खतिवडाले पाटपुर्जामा लाग्दै आएको १३ प्रतिशत भ्याट हटाइदिएका हुन् ।

योसँगै अब हवाई यात्रुहरुसँग एयरलाइन्स कम्पनीले उठाउँदै आएको १३ प्रतिशत रकम घट्नेछ। तर, एयरलाइन्स कम्पनीहरुले साउन १ गते पछि मात्रै हवाई भाडाको विषयमा छलफल हुने जनाएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०७६-७७ को बजेटसँगै आर्थिक ऐनबाट भ्याट हटाइदिएको हो । भ्याट हटेसँगै हवाई यात्रुले पनि भाडादरमा राहत पाउने भएका छन् ।

जहाज तथा हेलिकप्टरका पाटपुर्जामा भन्सार भने एक प्रतिशत मात्रै लाग्दै आएको थियो । ‘साउन १ देखि कार्यन्वयनमा आउने भएकाले त्यसपछि मात्रै  हवाई भाडाको विषयमा छलफल हुनेछ,’ श्री एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धरले भने । भ्याट हटाएको भन्ने विषय आएकाले अब कार्यान्वयन पक्ष हेरेर मात्र हवाई भाडाको विषयमा छलफल हुने मानन्धरले बताए ।

हाल नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने तीन वटा एयरलाइन्स रहेका छन् । वार्षिक एक खर्ब बढीको हवाई व्यापारमा ८५ प्रतिशत हिस्सा विदेशी एयरलाइन्सको रहँदै आएको छ । आन्तरिक हवाई सेवालाई विश्वासनीय बनाउने तथा अन्तर्राष्ट्रिय उडान गर्ने घरेलु एयरलाइन्सलाई प्रतिस्पर्धी बनाउनका लागि भन्दै हवाई सेवा प्रदायकहरुले भ्याट छुट र शून्य भन्सारदरको माग गर्दै आएका थिए ।

‘भ्याट हटाइएको भन्ने विषय आएको छ, कार्यान्वयनपछि विज्ञ समूह बनाएर भाडा समायोजनको विषयमा छलफल हुनेछ,’ निजी वायुसेवा सञ्चालक संघ (आयोन) का प्रमुख कार्यकारी कमलेश बर्माले भने । सरकारले आर्थिक ऐनमार्फत दुई हजार किलो तौलका हेलिकप्टर तथा १५ हजार किलोसम्मका जहाज र तीनका पाटपुर्जा आयातमा लाग्ने भ्याट हटाएको छ ।

तर, भाडामा ल्याइने जहाजमा लाग्दै आएको कर भने यथावत छ । सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको सरकारले हवाई सेवालाई सस्तो र प्रतिस्पर्धी बनाउन सहुलियत तथा छुट दिएको हो । नेपालमा दर्जन हेलिकप्टर कम्पनी, आधा दर्जन एयरलाइन्स कम्पनी तथा अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स लाभाविन्त हुनेछन् ।

तपाईको प्रतिक्रिया