काठमाडौं – धुर्मुस-सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको घोषणा कार्यक्रममै साढे तीन करोड सहयोग जुटेको छ ।
आज राजधानीमा आयोजित गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि जग्गा प्राप्तीसम्बन्धी सम्झौता कार्यक्रममा यो सहयोग रकम जुटेको हो ।
आजको कार्यक्रममै एस ट्राभल्सले तीन करोड रुपैयाँ दिने घोषणा गरेको छ । साथमा अन्य संघसंस्था र व्यक्तिले समेत सहयोग घोषणा गरेका हुन् ।
अहिलेसम्म अल्का अस्पतालले २५ लाख, आर एम ग्रुपले पाँच लाख, मुक्तिनाथ विकास बैंकले पाँच लाख, रविराज सिंहले ११ लाख, बद्री पंगेनीले एक लाख, मह सञ्चार र भद्रगोल टिमले एकएक लाख सहयोग गर्ने घोषणा गरिसकेका छन् ।
अझै सहयोग रकम जुट्नेक्रम जारी छ । फाउन्डेसनले रंगशालाको लागत तीन खर्ब अनुमान गरेको छ ।