Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

वीरेन्द्रनगर – गुर्भाक-९ की ३३ वर्षीया फम्फा परियारको सुत्केरी अवस्थामा ज्यान गयो । सुत्केरी हुन प्रदेश अस्पताल कालागाउँ आउनुभएकी उहाँको सुत्केरी भएको नौ दिनमा ज्यान गयो । स्वास्थ्य संस्थाबाट सुत्केरीपछिको स्याहारका विषयमा आवश्यक परामर्श नहुँदा परियारको ज्यान गएको हो ।

‘सुत्केरीपछिको स्याहारको कमीका कारण परियारको मृत्यु भएको हो,’ गुर्भाकोटका नगर स्वास्थ्य संयोजक किरण वलीले भन्नुभयो । यस्तै सुर्खेत वीरेन्द्रनगरकी २७ वर्षीया निशा सुनारको सुत्केरी हुँदा कालागाउँमा रहेको प्रदेश अस्पतालमा ज्यान गयो । गत जेठ २६ गते प्रदेश अस्पतालमा भिडियो एक्सरे गराउँदा आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रै देखिएको थियो । सोही दिन राति एक्कासि सुत्केरी व्यथाले च्यापेपछि उनलाई अस्पताल लगियो । राति १ बजे शल्यक्रिया गरेपछि उहाँको मृत्यु भएको निशाकी दिदी सुनकेशा परियारले बताउनुभयो ।

‘भिडियो एक्सरे गर्दा चिकित्सकले आमा र बच्चाको अवस्था राम्रै छ भनेपछि हामीले अन्यत्र लगेनौँ’, उहाँले भन्नुभयो, ‘एक्कासि चिकित्सकले बच्चा मरेको छ शल्यक्रिया गर्नुपर्छ भन्नुभयो । पछि आमालाई बचाउन सकिएन भने ।’ चिकित्सकको लापर्वाहीले बहिनीको ज्यान गएको उहाँको आरोप छ । जिल्लामा रहेका स्वास्थ्य संस्थामा हुने यस्ता खालका लापर्वाहीबाट सुत्केरीको ज्यान जाने गरेको छ । पर्याप्त जनशक्ति नहुनु र भए पनि दक्ष जनशक्तिको अभाव तथा अनुदान रकमका लागि शल्यक्रिया गर्ने गरेका कारणले यस्ता घटना निम्तिने गरेका छन् । कतिपयको स्वास्थ्य संस्थामा पु¥याउने क्रममा बाटोमै ज्यान जाने गरेको छ ।

यस्तैमध्येकी हुन् सुर्खेतकी कविता परियार । समयमै स्वास्थ्य संस्थामा पुर्याउन नसक्दा परियारको मृत्यु भयो । सुत्केरी व्यथा लागेपछि जिल्ला बाहिरको स्वास्थ्य संस्थामा पठाउने क्रममा उहाँको मृत्यु भएको स्थानीयवासी निर्मला केसीले बताउनुभयो । उनले भारतमा गएर असुरक्षित गर्भपतन गराएकी थिइन । नजिकको बर्थिङ सेन्टरमा उपचार सम्भव नभएपछि उहाँलाई जिल्ला बाहिरको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

चिकित्सकको लापर्वाहीले होस् या, बर्थिङ सेन्टरमा दक्ष जनशक्तिका साथै उपकरण नहुँदा वर्षेनी कर्णाली प्रदेशमा सुत्केरी महिलाले ज्यान गुमाउनुपरेको छ । पाँच वर्षयता कर्णाली प्रदेशमा ११५ महिलाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी जाजरकोट र मुगुका सुत्केरी रहेका छन् । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत विनोद आचार्यका अनुसार आव २०७०-७१ मा ३३, २०७१-७२ मा १४, २०७२-७३ मा १३, २०७३-७४ मा १८ तथा आव २०७४-७५ मा ३७ सुत्केरीले ज्यान गुमाएका छन् ।

सुर्खेतमा ५२ स्वास्थ्य संस्था तथा दुई अस्पतालमा बर्थिङ सेन्टर सञ्चालनमा छ । अधिकांशमा दक्ष जनशक्ति र उपकरणको अभाव छ । नजिकको स्वास्थ्य संस्थाप्रति अधिकांश नागरिकको विश्वास हुँदैन । सुविधा भए पनि नजिकको स्वास्थ्य संस्थामा प्रसूति गराउन नजाने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका सूचना अधिकारी वसन्त श्रेष्ठ बताउनुहुन्छ । पछिल्लो समय असुरक्षित गर्भपतनका कारण मातृ मृत्युदर बढेको जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स सङ्गीता खड्का बताउनुहुन्छ ।

सुत्केरी बचाउन हेलिकप्टर चार्टर
कर्णालीमा मातृ मत्युदर बढ्दै जान थालेपछि कर्णाली प्रदेश सरकारले हेलिकप्टर चार्टर गरेर सुत्केरीलाई स्वास्थ्य संस्थामा पुर्याउन थालेको छ । भौगोलिक विकटता र सडक पहुँचको अभावमा सुत्केरीलाई स्वास्थ्य संस्थामा लैजान समस्या हुँदा सुत्केरीको ज्यान जान थालेपछि कर्णाली सरकारले उक्त अभियान चलाएको हो । प्रसूतिका जटिल खालका समस्या भएका र स्थानीयस्तरमा उपचार असम्भव भएको अवस्थामा हेलिकप्टरमार्फत अस्पताल लैजाने गरिएको छ ।

कर्णाली सरकारले गत वर्ष फागुनयता १४ सुत्केरीलाई हेलिकप्टर चार्टर गरी अस्पताल पुर्याएको सामाजिक विकासमन्त्री दलबहादुर रावलले बताउनुभयो । ‘कर्णालीमा सुत्केरीको ज्यान जोगाउन अभियान चलाएका हौं’ उहाँले भननुभयो, ‘अब यहाँका बर्थिङ सेन्टरलाई सुविधा सम्पन्न गराउन पहल गर्दैछौँ ।’ पाठेघर खस्ने महिलाका लागिसमेत विशेष अभियान चलाउँदै आएको मन्त्री रावलले बताउनुभयो । कर्णालीका १० जिल्लामध्ये सुर्खेतबाहेकका जिल्लामा हेलिकप्टर चार्टर गरेर सुत्केरीलाई अस्पतालमा पुर्याउन थालिएको छ ।

तपाईको प्रतिक्रिया