काठमाडौं – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले त्रिभुवन शिक्षण अस्पतालमा उपचार गराइरहेका काँग्रेसका उपसभापति रामचन्द्र पौडेलको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।
रियो दि जेनेरियोबाट फर्केलगत्तै सोमबार साँझ शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री डा. भट्टराईले उपसभापति पौडेलको पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको पौडेलका सहयोगी चिरञ्जिवी अधिकारीले जानकारी दिए ।
काँग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबरालगायतका विभिन्न पार्टीका नेताहरुले पनि अस्पताल पुगेर पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
रक्तचाप बढेर अचानक बिरामी भएपछि पौडेललाई शिक्षण अस्पतालको अति सघन उपचार कक्ष (आईसीयू)मा भर्ना गरिएको थियो । उनलाई निमोनिया भएको छ ।
पौडेलको उपचारमा संलग्न डा. करवीरनाथ योगीले स्वास्थ्यमा सुधार आए छिट्टै आईसीयूबाट बाहिर निकालिने बताए । पौडेलको स्वास्थ्य अवस्था स्थिर र सामान्य रहेको बताइएको छ । पौडेललाई अझै दुई/तीन दिन अस्पतालमै राखेर उपचार गरिने चिकित्सकहरुले जनाएका छन् । ***