काठमाडौं – नेपालमा मानसिक समस्याका बिरामी चिकित्सकलाई देखाउन अझै पनि हिच्किचाउँछन् । कति त परिवारमा कुरा गर्नसम्म पनि डराउँछन् । कतिपय समाजले थाहा पाउला कि भनेर चिकित्सककहाँ जचाउन जाँदैनन् । तर, यसरी मानसिक समस्यालाई लुकाएर समस्यालाई अझ बढाउनुभन्दा समयमै निको बनाउनु बुद्धिमानी हुन्छ ।
कसरी पत्ता लगाउन सकिन्छ ?
मानसिक रोग चिकित्सकले जाँच्नासाथ अरू रोगजस्तो पत्ता लाग्दैन । यो कुनै एक्सरे, सिटी–स्क्यान, रगत जाँचेर थाहा पाउन सकिन्न । मनसँग सम्बन्धित समस्या हुने भएकाले यो रोग शारीरिक रोगभन्दा अत्यन्तसूक्ष्म हुन्छ ।
विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्म मधुमेह, उक्त रक्तचाप, अन्य संक्रमित रोगहरूभन्दा मानसिक रोग अग्रपंक्तिमा आउने अनुमान गरेको छ । अमेरिकाजस्तो विकसित देशका धेरैजसो मानिस निद्रा लाग्ने औषधि सेवन नगरी निदाउन सक्दैनन् ।
साधारणतया मानसिक रोगहरूमा डिप्रेसन, बाइपोलार डिसअर्डर, डिमेन्सिया, स्किजाफ्रेनिया, एन्जाइटी डिसअर्डर पर्दछन् ।
सामान्य मानसिक समस्या सबैलाई हुने गर्दछ, जुन आफैँ निको पनि हुने गर्दछ । त्यसैले सामान्य समस्याबाट असामान्य अवस्थासम्म नपुर्याउन स्वयं नै सचेत हुन जरुरी छ ।
लक्षण
बेहोस होउँला कि भन्ने डर ।
मानसिक सन्तुलन गुमाउँला कि र मृत्यु होला कि भन्ने डर ।
हातखुट्टा वा शरीरबाट पसिना आउने ।
मनमा धेरै कुरा खेलाउने, तर्सिने, झस्किने ।
तुरुन्तै दुःखी अनि खुसी हुनु ।
एक ठाउँमा बस्न नसक्ने, छटपटी हुने ।
मुटुको धड्कन असामान्य रूपमा बढ्ने ।
हातखुट्टा काम्ने ।
अचानक शारीरिक कमजोरी हुने ।
बेसुरले बोल्ने, वेलावेलामा बेहोस हुने ।
सामान्य अवस्थामा भन्दा यौनेच्छामा कमी आउने ।
बढी रिसाउनु, झर्किनु, काममा मन नजानु ।
निद्रा नलाग्नु ।
प्रमुख कारण
चिन्ता, बेरोजगारी, उदासीनता, असहायपन, गरिबी, वितृष्णा, अति महत्वाकांक्षा, असुरक्षाजस्ता कारण मानसिक समस्यालाई बढाउने खुराक हुन् । त्यस्तैगरी, परिवारबीच मेलमिलापको वातावरण नहुनु, दम्पतीबीच यौनसम्बन्धबाट सन्तुष्टि नहुनु आदिले पनि समस्या थपेको छ ।
समस्या ठीक पार्ने वैकल्पिक उपाय
मानसिक समस्यामा औषधिभन्दा योग, प्राणायाम, ध्यानबाट पूर्ण रूपमा ठीक हुन सकिन्छ । ध्यानको साक्षी साधनाअनुसार हाम्रो विचार, भावना र शरीरमा आइरहेको विचार, भावना, संवेदनाहरूलाई ठीक–बेठीक भनेर नछुट्याई होसपूर्ण रूपमा हेर्न सक्यौँ भने पनि बिस्तारै मानसिक समस्या ठीक हुन्छ । जसका लागि दैनिक साधना गर्नुका साथै धैर्यको खाँचो हुन्छ । त्यसका साथै सकारात्मक चिन्तन, सन्तुलित भोजनले पनि सहयोग गर्दछ । यसका लागि योग्य ध्यानाचार्यसँग प्रशिक्षणको खाँचो हुन्छ ।