Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं- राजीनामा दिइसकेका मन्त्री सामान्यतया मन्त्रालय जाँदैनन् । तर, झन्डै एक महिना कृषिमन्त्री भएका अकबल अली साह भने राजीनामा दिएर स्वीकृत भइसकेपछि पनि मन्त्रालय पुगे । मन्त्रीको कुर्सीमा बसे र अघिल्लो दिनको मिति राखेर भटाभट निर्णय गरे ।
बिहीबार राति अरूसँगै सामूहिक राजीनामा दिएका मन्त्री साह केही सहयोगी साथ लिएर शुक्रबार दिउँसो सुरक्षा गार्ड र सरकारी गाडीविना लुसुक्क मन्त्रालय छिरेका थिए । उनले कार्यालय समय सकिएपछि पनि घन्टौँ मन्त्रालयमा बिताएको स्रोतले बतायो ।
साह मन्त्रालय जाँदा उनको राजीनामा स्वीकृतसमेत भइसकेको थियो । तर, मन्त्रीको कुर्सीमा बसेर उनले सचिवको मिलेमतोमा विभिन्न निर्णय गरेका थिए । स्रोतका अनुसार शुक्रबार दिउँसो करिब एक बजे बैंककबाट स्वदेश फर्केका कृषिसचिव नाथुराम चौधरी साहलाई सघाउन दिउँसो तीन बजे मन्त्रालय पुगेका थिए ।
सचिव चौधरी मन्त्रालय आएपछि केहीबेर मन्त्री–सचिवबीच गोप्य बैठक चल्यो । त्यसपछि उनीहरूले बिहीबारको मिति राखेर मन्त्रालयअन्तर्गतका विभिन्न निकायमा कसैलाई नियुक्ति त कसैलाई हटाउने कागज बनाएको स्रोतले बताएको छ । उच्च स्रोतका अनुसार कृषि सामग्री कम्पनी लिमिटेडका सञ्चालक दीपेश झालाई हटाएर उनको ठाउँमा बलराम यादवलाई नियुक्त गरिएको पत्र तयार गरियो । यसैगरी दुग्ध विकास संस्थानको
सञ्चालकबाट श्यामलाल साहलाई हटाइएको अर्को पत्र तयार गरियो र उनको ठाउँमा मन्त्रीनिकट एक व्यक्ति नियुक्त गरिए । मन्त्रीका केही मान्छेलाई करारमा नियुक्त गरिएको पत्र पनि तत्कालै बनाइयो । ‘शुक्रबार मन्त्रीज्यू रक कृषि सचिवज्यू राति आठ बजेसम्म बस्नुभएको थियो । उहाँहरूले बिहीबारको मिति राखेर थुप्रै निर्णय गर्नुभयो,’ कृषि मन्त्रालयका एक अधिकारीले सौर्यसँग भने ।
कृषि राज्यमन्त्री ओमप्रकाश यादव भने शुक्रबारदेखि मन्त्रालय जान छाडेका थिए । ‘राजीनामा दिएपछि म मन्त्रालय जान छाडेँ, तर मन्त्रीज्यू भोलिपल्ट पनि मन्त्रालय जानुभएछ,’ यादवले सौर्यसँग भने, ‘उहाँले के–के निर्णय गर्नुभयो भन्ने मलाई केही थाहा भएन ।’
पूर्वमन्त्री साह शनिबार नगरकोटको हिलसाइट होटलमा आयोजित एउटा कार्यक्रममा पनि मन्त्रीकै हैसियतमा सहभागी भए । त्यहाँ उनले प्रमुख अतिथिको आसनबाट कार्यक्रम उद्घाटन गरेका थिए । सोमबार दिउँसोसम्म कृषि मन्त्रालयमा आकबल अली साहको नेमप्लेट हटाइएको छैन । जब कि कृषि राज्यमन्त्रीको नेमप्लेट शुक्रबार नै हटाइएको थियो ।
पूर्वकृषिमन्त्री साहले आफू कानुनको विद्यार्थी भएकाले कानुनसम्मत काम गरेको प्रतिक्रिया दिएका छन् । ‘मैले सबै काम कानुनसम्मत ढंगले गरेको हुँ,’ साहले भने । राजीनामा दिएको सात दिनसम्म सरकारी गाडी र निवास प्रयोग गर्न सक्ने प्रावधान भए पनि आफूले भोलिपल्टै सरकारी सुविधा त्यागेको उनले बताए ।
स्रोतका अनुसार पूर्वमन्त्री साहले बिहीबार कार्यवाहक कृषिसचिव हरि दाहाललाई आफ्नोकार्यकक्षमा बोलाएर केही मान्छेलाई नियुक्ति दिन र केहीलाई हटाउन निर्देशन दिएका थिए । तर, मन्त्रीको निर्देशन दाहालले मानेका थिएनन् ।
तपाईको प्रतिक्रिया