सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

टोकियो – टोकियोमा एक समारोहका बीच पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्वसभापती स्वर्गिय गिरिजाप्रसाद कोईरालाको सातौ स्मृति दिवस मनाईएको छ ।

नेपाली काँग्रेसको जापानस्थित भ्रात्तृसंगठन नेपाली जनसम्पर्क समिति जापानले आयोजना गरेको सो कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाली काँग्रेसका सांसद मोखतर अहमदले स्व. कोईराला तत्काल निर्णय गर्न सक्ने क्षमता भएका नेपाली काँग्रेसको र नेपालको मात्रै नभएर सबै राजनैतिक दलहरु एवं एशियाकै महान नेता भएको बताउनुभयो । उहाँले देशको पछिल्लो राजनैतिक अवस्थाका बारेमा प्रकाश पार्दै नेकपा एमालेजस्तो जिम्मेवार दलले मेची महाकाली अभियानको नाममा चुनाव भाँड्ने प्रपञ्च रचेको आरोप लगाउँदै उहाँले अब उखान टुक्काले देश नचल्ने बताउनुभयो । ’एमालेको राष्ट्रबाद बुझिनसक्नुको छ, आफैद्वारा हस्ताक्षर गरेको संबिधान संशोधनको बिषयमा बखेडा झिकेर मुलुकलाई अन्यौलतातिर धकेल्न खोजिरहेको छ’ – नेता अहमदले अगाडि भन्नुभयो ’आफु सत्तामा हुँदा एउटा कुरा सत्ता बाहिर हुँदा अर्को कुरा गर्ने एमालेको राष्ट्रबाद बुझिनसक्नुको छ ।’

कार्यक्रममा नेपाली काँग्रेसकी अर्का सांसद सरवत आरा खानले पनि स्वर्गिय कोईरालाप्रति श्रद्धासुमन ब्यक्त गर्नुभएको थियो । स्वर्गिय कोइरालाको तस्विरमा माल्यार्पणबाट सुरु गरिएको सो कार्यक्रममा बोल्ने वक्ताहरुले उहाँको ब्यक्तित्वबारे प्रकाश पारेका थिए ।

आयोजक संस्थाका उपसभापति पिताम्बर चापागाईंको स्वागत मन्तब्य रहेको सो कार्यक्रममा एनआरएन जापानका सचिव बुद्धिराज घिमिरे, नेपाली जनप्रगतिशील मञ्चका उपमहासचिव बाबुराम पौडेल, प्रवासी नेपाली मञ्चका उपाध्यक्ष सिध्दार्थ श्रेष्ठ, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, नेपाली जनसम्पर्क समितिका पूर्व अध्यक्ष महेशकुमार श्रेष्ठ, पूर्व संयोजक भूपिगोविन्द श्रेष्ठ, महासमिति सदस्य चिरिञ्जिवी थापा, बुद्धिजीवी गणेश नेपाल लगायतका वक्ताहरुले नेपालको लोकतान्त्रिक आन्दोलन र ऐतिहासिक परिवर्तनमा स्वर्गिय कोईरालाको योगदान बारे चर्चा गर्नुभएको थियो ।
जनसम्पर्क समिति जापानका सभापति डिपी कँडेलको सभापतित्पमा भएको सो कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, ब्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा महामन्त्री रामजंग कार्कीको सञ्चालन रहेको थियो ।***

तपाईको प्रतिक्रिया