काठमाडौं – सत्तारुढ कांग्रेसले असन्तुष्ट मधेसी मोर्चाका नेताहरूलाई मनाउने प्रयास थालेको छ । पदाधिकारी, पूर्वपदाधिकारीसहितका वरिष्ठ केन्द्रीय सदस्यहरूको बैठकले संविधान संशोधनका लागि अग्रसरता लिने निर्णय गरेको भोलिपल्टै सभापति शेरबहादुर देउवाले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छलफल गर्नुभएको छ ।
स्थानीय तहको चुनाव घोषणाप्रति असन्तुष्टि जनाइरहेको मोर्चाको घटक तमलोपा अध्यक्ष ठाकुरसँग देउवाले संविधान संशोधनका लागि पहल गर्ने भन्दै सरकारलाई दिएको समर्थन फिर्ताको अडानबाट पछाडि फर्किन आग्रह गर्नुभएको हो । साथै, संशोधनका लागि आफूहरू लागेको जानकारी गराउँदै निर्वाचनको विरोध नगर्न आग्रह गर्नुभएको हो ।
के भने देउवाले ?
देउवाले देशलाई राजनीतिक निकास दिनकै लागि कांग्रेस, माओवादी, मोर्चा र राप्रपासहितको सरकार बनेको भन्दै संविधान संशोधनका पक्षमा कांग्रेस दृढ भएर उभिने आश्वासन ठाकुरलाई दिनुभएको थियो । ‘असन्तुष्ट पक्षलाई पनि मूलधारमा ल्याउन यो सरकार बनेको हो । त्यसैले संविधान संशोधन पारित गरेर राजनीतिक निकासको बाटोमा कांग्रेस दृढतापूर्वक लागिरहेको छ,’ देउवाको भनाइ उद्धृत गर्दै भेटमा सहभागी कांग्रेस नेता फर्मुल्लाह मन्सुरले भन्नुभयो, ‘त्यसकारण सरकारलाई दिएको समर्थन फिर्ताको अडान फिर्ता लिनुस् र सहमतिको वातावरण बनाएर संशोधन पारित गर्ने र चुनावमा जाने बाटोमा लागौँ ।’
महन्थले भने– राजनीतिक वातावरण भएन
तमलोपा अध्यक्ष ठाकुरले संविधान संशोधन आफूहरूको बटमलाइन भए पनि मुख्य दलहरू जिम्मेवार नभएको बताउनुभएको थियो । ‘तपाईंहरू संविधान संशोधन गर्नुपर्छ भन्नुहुन्छ, तर वातावरण बनाउनुहुन्न ।
हाम्रो बटमलाइन नै संविधान संशोधन हो,’ ठाकुरले भन्नुभयो, ‘संविधान संशोधन गरेपछि राजनीतिक वातावरण बन्छ । संविधान संशोधन नभईकन अब हामी सरकारलाई समर्थन गर्न सक्दैनौँ ।’ उहाँले समर्थन फिर्ताको अल्टिमेटम नै सरकारलाई दिएको समर्थन फिर्ता भएको दाबी गर्नुभयो ।
दुईतिहाइका लागि पहल गर्ने देउवाको आश्वासन
देउवाले पछिल्लो समय राप्रपा अध्यक्ष कमल थापा पनि सरकारमा सहभागी भएको भन्दै फोरम लोकतान्त्रिकसहितका साना दललाई सरकारमा सहभागी गराएर संविधान संशोधनमा दुईतिहाइ पुर्याउने पक्षमा आफू लागेको बताउनुभएको थियो । ‘हिजो कमल थापाकै धरमर थियो, अहिले आएका छन् । विजयकुमार गच्छदारलाई सरकारमा ल्याउँदा आश्चर्य हुँदैन,’ मन्सुरले भन्नुभयो, ‘राजनीतिक दलको सहमतिको सरकार बनोस् भन्नेमा कांग्रेस लागेको छ ।