काठमाडौं – सबैभन्दा धेरै विद्यालय रहेको काठमाडौंमा सामुदायिक र निजी गरी सयौँ विद्यालयमा विद्यार्थी अभाव हुन थालेको छ । सामुदायिक विद्यालयमा देशभर विद्यार्थी संख्या घट्दै गए पनि काठमाडौंमा निजी विद्यालयमा समेत समस्या देखिएको छ ।
जिल्ला शिक्षा अधिकारी जयप्रसाद आचार्यका अनुसार काठमाडौंका २४ सामुदायिक विद्यालयमा २५ भन्दा कम विद्यार्थी छन् । सामुदायिकको भन्दा झन्डै तेब्बर ६२ निजी विद्यालयमा २५ भन्दा कम विद्यार्थी छन् । आचार्यले भन्नुभयो, ‘विद्यार्थी अभावले सामुदायिकभन्दा बढी निजी विद्यालय बन्द हुने अवस्थामा छन् ।’
नियमअनुसार उपत्यका र तराईमा एक शिक्षकबराबर प्राथमिक तहमा ५० विद्यार्थी हुनुपर्छ । तर, कतिपय विद्यालयमा विद्यार्थीभन्दा शिक्षक धेरै छन् । माथिल्लो तहमा भने उपत्यकाका सामुदायिक विद्यालयमा चाप छ ।
सामुदायिकभन्दा निजीमा समस्या
काठमाडौंमा दुई सय ४५ सामुदायिक र आठ सय आठ निजी विद्यालय छन् । ८५ विद्यालयमा सय पनि विद्यार्थी छैनन् । काठमाडौंका आठ विद्यालयमा हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
निजी विद्यालय सामुदायिकभन्दा बढी समस्याग्रस्त छन् । सयभन्दा कम विद्यार्थी हुने विद्यालय संख्या एक सय ८० छ । काठमाडौंका १९ निजी विद्यालयमा मात्र हजारभन्दा बढी विद्यार्थी रहेका छन् ।
सत्तल र गुठीमा चलेका विद्यालय समस्यामा
काठमाडौंमा पुराना पार्टी, सत्तल, गुठीमा सञ्चालित विद्यालय बढी समस्यामा छन् । जमिनमा विद्यालयको स्वामित्व नरहेका ती विद्यालय भूकम्पपछि झनै समस्यामा परेको जिशिअ जयप्रसाद आचार्यले बताउनुभयो । विद्यार्थी संख्या कम भएका विद्यालय प्राथमिक तहका रहेको आचार्यको भनाइ छ । उपत्यकाका सहरी क्षेत्रका प्राथमिक तहका विद्यालयमा विद्यार्थी अभाव छ ।
यसकारण आकर्षण घट्यो प्राविमा
सामुदायिक विद्यालयका प्राथमिक तहमा विद्यार्थी आकर्षण घटेको छ । प्राथमिक तहमा अंग्रेजी माध्यममा मोह बढेको तथा प्रतिष्ठाको विषयसमेत बनेकाले समस्या भएको हो । निजीमा तल्लो तहमा अंग्रेजीको आधार राम्रो बनाएर माथिल्लो तहमा सामुदायिकमा भर्ना हुने प्रवृत्तिसमेत छ । सामुदायिकमा शिक्षकले पठनपाठनमा मिहिनेत कम गर्नु, बालमैत्री वातावरण कम हुनु र भौतिक वातावरणसमेत नहुने भएकाले विद्यार्थी कम भएको काठमाडौंका जिशिअ जयप्रसाद आचार्यले बताउनुभयो ।
यस्तो छ काठमाडौंका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या
विद्यार्थी संख्या विद्यालय संख्या
१–२५ २४
२६–५० २४
५१–७५ २४
७६–१०० १३
१०१–१५० २४
१५१–२०० २३
२०१–३०० ३६
३०१–५०० ४४
५०१–७५० २०
७५१–१००० ५
१००१–१५०० ४
१५०१–२००० ४
निजी विद्यालयको अवस्था
विद्यार्थी संख्या विद्यालय संख्या
१–२५ ६२
२६–५० ४९
५१–७५ ३८
७६–१०० ३१
१०१–१५० १०४
१५१–२०० १०७
२०१–३०० १७८
३०१–५०० १४६
५०१–७५० ५९
७५१–१००० १५
१००१–१५०० १४
१५०१–२००० ८
२००० भन्दा माथि २
स्रोत : जिल्ला शिक्षा कार्यालय, काठमाडौं
सके माथि उकास्ने, नसके गाभ्ने
जिल्ला शिक्षा कार्यालयले सकेसम्म विद्यार्थी कम भएका विद्यालयलाई माथि उकास्ने रणनीति लिएको छ । भौतिक सुविधा र शिक्षक दिएर विद्यालयको अवस्था सुधार्ने रणनीति बनाइएको जिशिअ जयप्रसाद आचार्यले बताउनुभयो। ‘माथि उकास्न नसकिने सामुदायिक विद्यालयलाई आवश्यकता नभएमा राम्रा विद्यालयसँग गाभ्ने रणनीति छ,’ उहाँले भन्नुभयो, ‘निजी विद्यालय पनि समस्याग्रस्त भएकाले मर्जरमा जान जिल्ला शिक्षा कार्यालयले प्याब्सन तथा एनप्याब्सनसँग छलफल गरेको छ ।’