काठमाडौँ – एमाले अध्यक्ष केपी ओलीले कसैको स्वार्थ र आग्रह सम्बोधन गर्न संविधान संशोधन हुन नसक्ने बताउनुभएको छ । दशदिने थाइल्यान्ड भ्रमणपछि सोमबार स्वदेश फर्कनुभएका निवर्तमान प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै कुनै औचित्यविना संविधान संशोधन असम्भव रहेको बताउनुभयो ।
‘कसैको दबाब र बहकाउमा देशको अहित हुने गरी, लोकतन्त्रलाई अप्ठ्यारो पार्ने गरी कसैको स्वार्थ र आग्रह सम्बोधनका लागि संविधान संशोधन हुँदैन,’ ओलीले भन्नुभयो, ‘लहडबाजी, जिद्दी वा आग्रह पूरा गर्न होइन, देशको आवश्यकता र अग्रगमन, देशको इज्जत र प्रतिष्ठा माथि उठाउनका लागि मात्रै संशोधन हुन्छ ।’ आजको नयाँ पत्रिकामा खबर छ । सरकारले संघीय गठबन्धनको माग सम्बोधनका लागि संविधान संशोधनको गृहकार्य बढाइरहेका वेला ओलीको यस्तो धारणा आएको हो । ओलीले संविधान संशोधनको ठोस प्रस्ताव आएपछि मात्रै एमालेले धारणा बनाउने स्पष्ट पार्नुभयो ।
संशोधनको माग गर्नेहरूले नै एमालेसँग कुनै औपचारिक प्रस्ताव नराखेको र सरकारले पनि कुन–कुन बुँदामा केका लागि संशोधन भन्ने स्पष्ट नराखेको भन्दै उनले यसबारे औपचारिक धारणा बनाइनसकेको स्पष्ट पार्नुभयो । ‘जतिवेला विषय आउँछ, त्यतिवेलै ठोस धारणा बनाउँछौा, अखबारमा आएका भरमा प्रतिक्रिया दिँदै हिँड्ने कुरा भएन,’ उहाँले भन्नुभयो ।
ओलीले अस्वाभाविक र अप्राकृतिक ढंगले राष्ट्रहितविरुद्ध बहुमतको दुरुपयोग गर्नेहरूसँग बजेट आश्रित विधेयक पास गर्न संसद्मा लैजाने नैतिकता नभएको टिप्पणी पनि गर्नुभयो ।