काठमाडौँ –गत सालको शक्तिशाली भूकम्पले ढालेको ऐतिहासिक धरहरा पुनर्निर्माण कुनै विदेशी दाताको पैसाले नगरी जनताकै लगानीमा गर्ने निर्णय गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारले जनस्तरमै प्रशंसा पायो ।
सोहीअनुसार तत्कालीन सरकारले सार्वजनिक आह्वान पनि गर्यो । आजको नागरिक दैनिकमा खबर छ । जनताले यसलाई ऐतिहासिक अवसर माने र धमाधम धरहराको नाममा दान गर्न थाले । अहिलेसम्म यो कोषमा २ करोड २१ लाखभन्दा बढी रुपैयाँ जम्मा पनि भइसकेको छ । विडम्बना त्यतिबेलै मन्त्रीपरिषद्ले गरेको धरहरा पुनर्निर्माणमा सबै मन्त्रीले एक महिनाको तलब दान गर्ने निर्णय भने उनीहरू आफैँले धोती लगाइदिए ।
स्वयम् ओलीबाहेक कुनै मन्त्रीले उक्त कोषमा पैसा हालेनन् । सरकार ढल्यो, निर्णय अधुरै रह्यो ।फागुन ४ गते धरहराको फेदमा आयोजित ‘ऐतिहासिक धरोहरा पुनर्निर्माण संकल्प’ कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले ‘म बनाउँछु मेरो धरहरा’ अभियान शुभारम्भ गरेका थिए ।