काठमाडौँ – डिफेन्डिङ च्याम्पियन स्पेनलाई हराउँदै इटाली फ्रान्समा जारी युरो २०१६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्रि–क्वार्टरफाइनलमा बलियो टोली स्पेनलाई २–० गोल अन्तरले हराउँदै इटाली अन्तिम आठमा ठाउँ पक्का गरेको हो ।
सन् २०१२ को फाइनलमा स्पेनले इटलीलाई ४–० ले हराउँदै लगातार दोस्रो पटक उपाधि कब्जा गरेको थियो । अघिल्ला दुई संस्करणमा लगातार उपाधि उचालेको स्पेनलाई यसपटक अन्तिम १६ बाटै बाहिरियो । इटालीका लागि खेलको ३३ औँ मिनेटमा जर्जियो चिलिनीले पहिलो गोल गरे ।
दोस्रो गोल खेलको इन्जुरी समयमा ग्राजियानो पेलेले गरेका हुन् । यसअघि समूह चरणमा दुई खेलमा जित र एकमा हारेका दुवै टिमले समान ६ अंक जोडेर अन्तिम १६ मा आएका हुन् । अब इटालीले क्वाटरफाइनलमा जर्मनीसँग खेल्नेछ ।
जर्मनी स्लोभाकियालाई हराउँदै यसअघिनै क्वाटरफाइनलमा पुगिसकेको छ ।