काठमाडौँ – फ्रान्समा जारी युरोकप अन्तर्गत आइतबार राति सम्पन्न प्रि–क्वाटरफाइनल खेलमा जर्मनी र बेल्जियम विजयी हुँदै प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।
जर्मनीले स्लोभाकियालाई ३–० ले हराउँदै अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो । जर्मनीको जितमा जेरोमी बोआटिङ, मारियो गोमेज र जुलियन ड्राक्सलरले एक–एक गोल गरे । युरोकप फुटबलमा बेल्जियम पनि शानदार लयमा फर्किएको छ । आइतबार राति भएको खेलमा हंगेरीलाई ४–० ले हराउँदै बेल्जियम क्वाटरफाईनलमा पुगेको हो । खेलमा बेल्जियमलाई विजयी गराउन टोबी अल्डरवेराल्ड, एडिन हाजार्ड, मिचु बात्सुई र कारास्कोले एक–एक गोल गरे ।
यसअघि आइतबार रातीकै अर्को खेलमा आयोजक फ्रान्सले आयरल्याण्डलाई पाखा लगाँउदै क्वाटरफाईनलमा पुगिसकेको छ । युरोकप फुटबलमा आज प्रि क्वाटरफाईनलका दुई खेल हुनेछन् । आज बेलुकी पौने १० बजे इंग्ल्याण्डले आईसल्याण्डसँग खेल्ने छ भने राति पौने १ बजे ईटाली र स्पेन भिड्नेछन् । आजका खेलहरुपछि प्रतियोगिताको क्वाटरफाईनल समिकरण पुरा हुनेछ ।