काठमाडौँ – अवैध बाटो प्रयोग गरी अमेरिका र अस्ट्रेलिया जान लागेका १६ नेपालीलाई माइक्रोनेसियाबाट उद्धार गरिएको छ । उनीहरूलाई शनिवार मलेसियास्थित नेपाली दूतावासले उद्धार गरेको हो ।
फिलिपिन्सदेखि पूर्व प्रशान्त महासागर क्षेत्रमा अवस्थित टापुहरूको राज्य माइक्रोनेसियाले १६ नेपालीलाई पक्राउ गरेको थियो । क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार उद्धार गरिएका १६ मध्ये सातलाई नेपाल फर्काइएको र बाँकीलाई फर्काउने तयारी भइरहेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
नेपाली दूतावासले आइतबार जारी गरेको विज्ञप्तिअनुसार उनीहरूलाई विदेशी तथा नेपाली मानवतस्करले अमेरिका तथा अस्ट्रेलिया पठाइदिन्छु भनेर मलेसिया र इन्डोनेसिया हुँदै डुङ्गाबाट माइक्रोनेसिया पुर्याएका थिए ।
नेपाल फर्किएकाहरूमा पाल्पाका वसन्तबहादुर दर्लामी, चितवनका प्रवीन लामा, मकवानपुरका सोमबहादुर लामा थिङ, इलामका सञ्जीव राई, चितवनका स्याम्युल तामाङ, धनुषाका अमितकुमार साह र चितवनका जयराम वाइबा छन् ।