अर्घाखाँची – नेपालका लागि भारतीय राजदूत रञ्जित रेले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण पछि नेपाल भारतको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।
रिपोटर्स क्लब अर्घाखाची शाखाले सन्धिखर्कमा आयोजना गरेको साक्षात्कारमा बोल्दै राजदूत रे ले राष्ट्रपतिको भारत भ्रमणको विषयमा कुटनीतिक पहल भइरहेकोले छिट्टै दुवै देशका राष्ट्रपति भ्रमणको मिति तय गर्ने बताउनुभयो । नेपाल र भारतको जस्तो भौगोलिक,समाजिक र धार्मिक सम्बन्ध अरू कुनै मुलुकसँग नभएको भन्दै नेपालको शान्ति,स्थिरता र विकासमा भारत सधैँ सकारात्मक रहेको उँहाको भनाइ थियो ।
केही दिनमा हुन लागेको नेपाल भारत बिचको उच्चस्तरीय बैठकले सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग गर्ने रे को विश्वास थियो । तराई आन्दोलनलाई लक्षित गर्दै राजदूत रेले नेपालको अस्थिरता र अशान्तिले भारतमा समेत असर पार्ने हुँदा त्यसप्रति भारतको चासो हुनु स्वभाबिक रहेको जिकिर गर्दै तराई आन्दोलनलाई नेपाल सरकारले वार्ताबाटै समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।