काठमाडौँ – सेवा प्रदायक निजी कम्पनीले आफूखुसी बिजुली काटिदिँदा बझाङ जिल्ला अस्पताल एक सातादेखि समस्यामा छ । लाखौ मूल्यका भ्याक्सिन बिग्रिएका छन् । गम्भीर प्रकृतिका बिरामीलाई उपचारमा समस्या परेको छ ।
‘२ देखि ८ डिग्री तापक्रममा राख्नुपर्ने धेरैजसो भ्याक्सिन बिग्रिएका छन्, जिल्ला अस्पताल प्रमुख डा. विष्णु खतिवडाले भन्नुभयो,‘यो महिनाभर नै हामीले खोप सेवा बन्द गर्नुपर्ने भएको छ ।’ उहाँका अनुसार दुई महिनालाई पुग्ने बिसिजी, डिपिटी, पोलियो र दादुराका भ्याक्सिनहरू पूर्ण रूपमा काम नलाग्ने भएका छन् । त्यसको मूल्य २० लाख रुपैयाँ भन्दा बढी हुन्छ ।
त्यसभन्दा गम्भीर पक्ष सुदूरपश्चिमको दुर्गम यस जिल्लामा बालबालिका खोप लगाउनबाटै बञ्जित हुने भएका छन् । सदरमुकाम र आसपासका गाविसलाई विद्युत उपलब्ध गराइरहेको सुर्मादेवि विद्युत प्रालिले पुनर्निर्माण गर्न भन्दै तीन महिनाअघिदेखि सेवा बन्द गरेको थियो ।
बैकल्पिक व्यवस्थाका लागि उसले दुईवटा ठुला जेनेरेटर चलाएर सेवा दिएको थियो । त्यसले जिल्ला अस्पताल लगायत सरकारी कार्यालयमा बिजुली पुगेको थियो ।