बुटवल – अफगानिस्तानको काबुलमा आतङ्ककारीको आत्मघाती आक्रमणमा परी मारिएका मध्येका रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३, देविनगरका ४३ वर्षीय जितेन्द्रसिंह थापाको परिवारजनले जसरी पनि शव घरमै ल्याइदिन आग्रह गरेका छन् ।
अफगानिस्तानको राजधानी काबुलमा आतङ्ककारीको आक्रमणमा त्यहाँ सुरक्षागार्डमा कार्यरत १२ जना नेपालीको असार ६ गते बिहान निधन भएको थियो । तीमध्ये एक जना रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ देवीनगरका हुनुहुन्छ । दुई छोराको साथमा रहेकी उहाँकी पत्नी ३९ वर्षीया गौमतीले घरमा पुगेका अधिकारकर्मी र पत्रकारसित शव घरमै ल्याइदिने व्यवस्था गरिदिन आग्रह गर्नुभयो । उहाँका १९ र १८ वर्षका दुई छोरा यहीँ छन् । घटना हुनुको अघिल्लो दिन छोराहरुसित मृतक जितेन्द्रको कुरा भएको थियो । त्यतिबेला उहाँले काम राम्रै भएको र आउँदो अक्टोबरमा घर आउन सक्ने बताएको कान्छा छोरा बिमलले बताउनुभयो ।
विमल कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ भने उहाँका दाजु मनिष कक्षा १२ को पढाइसँगै बुटवल टेक्निकल इन्स्टिच्यूटमा प्राविधिक तालिम लिइरहनुभएको छ । जितेन्द्र भारतीय सेनाबाट झन्डै ८ वर्षअघि सेवा निवृत्त हुनुभएको थियो । यसअघि पनि तीन पटकसम्म अफगानिस्तान जाने आउने गरेका उहाँ पछिल्लो पटक गत फागुनमा मात्रै त्यहाँ पुगेको परिवारले जनाएको छ । त्यसअघि इराकमा पनि उहाँ ३ महिना जति बसेको पत्नी गौमतीले बताउनुभयो । पाल्पाको छेर्लुङ्गबाट रुपन्देहीको करहियास्थित भलबारीमा आएको उहाँको परिवार अहिले बुटवलको देविनगरमा छ ।
२०५० सालमा विवाह गरेका जितेन्द्रले दुई वर्षपहिले सविता लामासँग दोस्रो विवाह गरेपछि जेठी श्रीमती गौमतीसँगको सम्बन्ध टाढिएको थियो । अहिले पनि गौतमी दुई छोरासँग बुटवलको घरमा बस्दै आएको तर सबिता भने काठमाडाँैमा कहाँ बस्छिन् आफूलाई थाहा नभएको गौमती बताउनुहुन्छ । जितेन्द्र काबुल कसरी गए भन्ने पनि गौमती र छोराहरुलाई थाहा छैन । ‘विवाह गरेर काठमाडाँैमा बसेको थाहा छ तर हाम्रो देखभेट भएको छैन ।
उता पनि तीन महिना पहिले बच्चा जन्मिएको छ भन्ने सुनेको छु’ गौमतीले भन्नुभयो । विगतका घटना जेजस्तो भए पनि जितेन्द्रको शव नेपालमै ल्याएर अन्तिम संस्कार गर्ने गौमतीको चाहना रहेको छ । विदेशी भूमिमा ज्यान गुमाए पनि शवलाई नेपाल ल्याउने व्यवस्था मिलाउन परिवारले सरकारलाई आग्रह गरेको छ ।