चितवन – चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको ११ महिनामा ८२ हजार पर्यटक आएका छन् । उनीहरूबाट झन्डै रु १२ करोड राजस्व सङ्कलन भएको निकुञ्जले जनाएको छ ।
सबैभन्दा बढी प्रवेश शुल्कबाट राजस्व सङ्कलन भएको निकुञ्जका रेन्जर ऋषिराम ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार गएको साउन महिनादेखि जेठसम्मको तथ्याङ्कअनुसार निकुञ्जमा ८१ हजार ८१३ जना पर्यटक प्रवेश गरेका छन् । पर्यटकबाट रु ११ करोड ९३ लाख ६७ हजार २७३ राजस्व सङ्कलन भएको छ । निकुञ्ज घुम्नेमा ४२ हजार १ सय ५१ जना पुरुष र ३९ हजार ६ सय ६२ जना महिला पर्यटक रहेका छन् ।
सबैभन्दा बढी सौराहा क्षेत्रबाट पर्यटक निकुञ्ज प्रवेश गरेको पाइएको ढकालले जानकारी दिनुभयो । रु आठ करोडभन्दा बढी राजस्व प्रवेश शुल्कबाट मात्रै उठेको छ । चैत महिनामा सबैभन्दा बढी रु एक करोड ८६ लाख ४४ हजार बढी राजस्व सङ्कलन भएको छ ।
अघिल्लो वर्ष भूकम्पपछिको समयमा निकुञ्जमा पर्यटक शून्य जस्तै भए पनि यो आवमा भने बढेको पाइएको निकुञ्जले जनाएको छ ।