काठमाडौँ – २०७२ साल वैशाख १२ गते गएको भयानक भूकम्पलगत्तै विश्वका प्रतिष्ठित वैज्ञानिकहरूले एक वर्षभन्दा बढी समय लगाएर गरेको निष्कर्ष हो–काठमाडौँको भू–सतहभन्दा १० किलोमिटर तल ७.३ रिक्टर स्केलसम्मको भूकम्प जानसक्ने ऊर्जा संकलन भएको छ ।
त्यो भूकम्प जुनसुकै बेला पनि जान सक्छ । तर, तिथि र समय नै तोक्न सक्ने अवस्था भने छैन । पराकम्प गएर पनि त्यो ऊर्जा क्षय नहुने वैज्ञानिकहरुको तर्क रहेको छ । उक्त अनुसन्धानको रिपोर्ट विज्ञानसम्बन्धी विश्वकै प्रतिष्ठित नेचर जिओसाइन्स म्यागेजिनमा बुधवार प्रकाशित भएको छ । अनुसन्धानमा संलग्न वैज्ञानिक तथा नेपाल भौगर्भिक समाजका अध्यक्ष डा. दण्डपाणि अधिकारीले भन्नुभयो, ‘उता प्रकाशित नभइकन हामीले बोल्न नमिल्ने भएकाले अहिलेसम्म चुप लागेर बसेका हौँ ।’
उँहाले १० किमिको जमिन धाँजा फाटेको कुरालाई आधा च्यातिएको लुगासँग तुलना गर्दै भन्नुभयो, ‘गोरखाको बारपाकभन्दा तलको जमिनको धाँजा फाटेको छ । त्यो धाँजा ललितपुरको खुमलटारसम्म छ । त्यो च्यातिएको कपडाजस्तै धाँजा सिमरासम्म च्यातिएको भए ऊर्जा समाप्त हुन्थ्यो। तर, यथावत् रहेकाले त्यसको निष्कासन कसरी हुन्छ भन्न सक्ने अवस्था छैन ।’
वैज्ञानिकहरूले किन यसरी आतंक फैलाउने काम गरिरहेका छन् भन्ने प्रश्नमा अधिकारीले उँहाले,‘हामीले २५ वटा जिल्लामा जीपीएस प्रणालीद्वारा मेसिन नै राखेर त्यसको तथ्यांकको आधारमा यो कुरा भनिरहेका छौँ । सुन्दा अप्रिय लाग्न सक्छ । तर, वास्तविकता यही हो । तथ्यको आधारमा यो कुरा भनिएको हो।
सर्वसाधारण मानिक सतर्क भएर बस्नु जरुरी रहेको छ ।’ आजको नेपाल समाचार पत्र दैनिकमा खबर छ । उहाँका अनुसार तथ्यहरू अध्ययन गर्दा यो अवधिमा ती जिल्लाहरूमा जमिनको हलचल एकदमै न्यून मात्रै पाइएको थियो ।