जुम्ला– कर्णालीमा पहिलो पटक जुम्लामा सञ्चालन गरिएको अपाङ्गता भएका व्यक्तिको राष्ट्रिय बास्केटबल तथा क्रिकेट खेलकुद प्रतियोगिता आईतबार सम्पन्न भएको छ ।
३ दिने प्रतियोगिताको फाइनल बास्केटबलमा काठमाडौँ आर्मी टिम विजय भएको छ । यो टिमले २९ अङ्क ल्याई विजय हात पारेको हो । उपविजेता जुम्लाले ११ अङ्क ल्याएको थियो भने कालीकोट तृतीय भएको थियो ।
यसैगरी क्रिकेट प्रतियोगितामा जुम्ला टिम विजयी भएको छ । जुम्लाले ७ विकेट गुमाउँदै २९ रनले विजयी भएको छ । कालीकोटले २९ रन ल्याए तापनि सबै विकेट गुमाउँदै उपविजेता बनेको छ ।
विजेता खेलाडीलाई सांसद ललितजङ शाहीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको हो । उहाँले अपाङ्गता भएका व्यक्तिले केही गर्न सक्छन् र कर्णाली पनि राष्ट्रियस्तरको खेल सञ्चालन गर्न योग्य ठाउँ हो भनेर सन्देश पनि दिनु भयो । साथै उहाँले आगामी वर्ष आफ्नो संसद् विकास कोषबाट जुम्लाका अपाङ्गता भएका व्यक्तिलाई रु एक लाख सहयोग गर्ने वचन समेत दिनुभयो ।
नेपाल पारा ओलम्पिक कमिटीका महासचिव कुमार पौडेलले कर्णालीका अपाङ्गता भएका व्यक्तिको खेल क्षेत्रको व्यवस्थापन तथा प्रवद्र्धनका लागि पहल गर्ने बताउनुभयो ।